काठमाडौं । लामो समयदेखि मन्दीको चपेटामा परेको नेपालको घरजग्गा बजारमा पुनः सुधारको संकेत देखिन थालेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको प्रतिवेदन अनुसार ब्याजदर घट्दै जानु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनु र लगानीकर्ताको विश्वास विस्तारै फर्किन थालेपछि देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको हो।
प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर घरजग्गा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ४२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कारोबार ४ दशमलव १२ प्रतिशतले घटेको थियो। यसले लामो समयदेखि सुस्त बनेको घरजग्गा बजार विस्तारै चलायमान बन्दै गएको संकेत गरेको छ।
राष्ट्र बैंकका अनुसार लिखत पारितमार्फत हुने कारोबार ० दशमलव ६२ प्रतिशतले बढेको छ भने राजीनामामार्फत हुने घरजग्गा कारोबार १२ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ। कारोबार भएको कुल क्षेत्रफल पनि १ दशमलव ६० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कारोबार क्षेत्रफल १० दशमलव ८६ प्रतिशतले घटेको थियो।
आर्थिक गतिविधिमा सुधारसँगै घरजग्गा कारोबारको मौद्रिक मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा देशभर करिब एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा करिब एक खर्ब रुपैयाँ मात्र थियो।
कारोबार बढेसँगै सरकारले उठाउने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ। घरजग्गा कारोबारबाट संकलित राजस्व २३ दशमलव ३२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर संकलन ३१ दशमलव ४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि विस्तार भएको छ। आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा गएको कर्जा ५ दशमलव ५५ प्रतिशतले बढेको छ। यसले बैंकहरू पनि घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्न पहिलेभन्दा सकारात्मक देखिएको संकेत गर्छ।
प्रदेशगत तथ्यांक हेर्दा सबैभन्दा उल्लेख्य सुधार बागमती प्रदेशमा देखिएको छ। यहाँ घरजग्गा कारोबार संख्या ३८ दशमलव ०९ प्रतिशतले बढेको छ। यसको विपरीत मधेश प्रदेशमा भने कारोबार ८ दशमलव ५१ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा कारोबार बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
कारोबार भएको क्षेत्रफलका आधारमा गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ, जहाँ २४ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। मधेश प्रदेशमा भने कारोबार क्षेत्रफल ९ दशमलव ३३ प्रतिशतले घटेको छ।
यद्यपि कारोबारको कुल मूल्य भने सातै प्रदेशमा बढेको छ। विशेषगरी बागमती प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य १३१ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ।
महानगरपालिकामध्ये सबैभन्दा धेरै सुधार काठमाडौं महानगरपालिकामा देखिएको छ। यहाँ घरजग्गा कारोबार संख्या १०८ दशमलव ६२ प्रतिशतले बढेको छ भने कारोबारको कुल मूल्य २२३ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ।
त्यसपछि पोखरा महानगरपालिकामा ८२ दशमलव १५ प्रतिशत, ललितपुरमा ७३ दशमलव ६१ प्रतिशत, वीरगञ्जमा ३१ दशमलव ०७ प्रतिशत, भरतपुरमा २९ दशमलव २१ प्रतिशत र विराटनगरमा २० दशमलव १२ प्रतिशतले कारोबार बढेको छ।
उपमहानगरपालिकाहरूमा पनि घरजग्गा बजारमा सुधारको प्रभाव देखिएको छ। ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा कारोबार बढेको छ।
बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ५६ दशमलव ७९ प्रतिशतले कारोबार वृद्धि भएको छ भने तुलसीपुर उपमहानगरपालिकामा कारोबार क्षेत्रफल ४२ दशमलव ७६ प्रतिशत र कुल कारोबार मूल्य १३४ दशमलव ४६ प्रतिशतले बढेको छ।
घट्दो ब्याजदर, सहज कर्जा प्रवाह, बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता तथा लगानीकर्ताको मनोबलमा आएको सुधारका कारण लामो समयदेखि मन्दीमा रहेको घरजग्गा बजार पुनः चलायमान हुने संकेत देखिएको छ।
यदि यही प्रवृत्ति कायम रह्यो भने आगामी महिनाहरूमा घरजग्गा क्षेत्रले अर्थतन्त्रलाई थप चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।