काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आगामी शुक्रबारदेखि ‘ग्लोबल कन्ज्युमर एक्सपो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
इभेन्ट सोलुसन प्रालिले ‘सपिङको नयाँ ठेगाना’ भन्ने नारासहित उक्त एक्सपो आयोजना गर्न लागेको हो ।
पाँच दिनसम्म चल्ने एक्सपोले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड, नवप्रवर्तनशील उद्यम र उपभोक्तालाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ । आयोजकका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य व्यवसायदेखि व्यवसाय (बी–टू–बी) र व्यवसायदेखि उपभोक्ता (बी–टू–सी) अन्तरक्रियाका लागि बृहत प्लेटफर्म उपलब्ध गराउनु हो ।
यस वर्षको मेलामा १५० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ। एफएमसीजी, घरेलु उपकरण, विद्युतीय सामग्री, फेसन, स्वास्थ्य तथा सौन्दर्य सामग्री, प्रविधि समाधान, हस्तकला र गरगहना लगायतका उत्पादनहरू प्रदर्शनमा राखिने बताइएको छ । एक्सपोमा करिब ३५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलामा विशेष छुट, लक्की–ड्र, उपहार योजना तथा विभिन्न आकर्षक अफरहरू पनि समावेश गरिने आयोजकले जनाएको छ । आयोजकले यस वर्ष मेलामा व्यवस्थित प्रवेश प्रणाली लागू गर्दै ५० रुपैयाँको सांकेतिक प्रवेश शुल्क निर्धारण गरेको छ । यसको उद्देश्य भीड व्यवस्थापनसँगै गुणस्तरीय र उद्देश्यपूर्ण सहभागिता सुनिश्चित गर्नु रहेको बताइएको छ ।

परम्परागत खुद्रा बजारभन्दा यस्तो व्यवस्थित व्यापार मेलाले उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवाद र आवश्यकताको गहिरो बुझाइलाई सहज बनाउने अपेक्षा आयोजकको छ ।
