काठमाडौं । ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वका विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिट्यान्स् सम्झौता भएको छ ।
यस सम्झौताअनुसार देशबाहिर रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसरी यूएई तथा विश्वका विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत पठाएको पैसा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभरि रहेका आईएमई लिमिटेडका ५०,००० भन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड-२०२४’ तथा ‘युरो मनी अर्वाड फर एक्सिलेन्स-२०२४’अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंकले मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS