काठमाडौं । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । गोपी कृष्ण मुभिज् प्रा.लिले एक विज्ञप्ती जारी गर्दै आर्थिक संकटको कारण देखाउँदै हल बन्द गर्ने घोषण गरेको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल फागुन १ गतेदेखि बन्द हुने प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।
‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीले आजका दिनसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आभार पनि प्रकट गरेको छ ।
नेपाली फिल्म निर्माताका लागि गोपीकृष्ण राम्रो कमाइ दिने स्रोत थियो । प्रत्येक शुक्रबार र शनिबार गोपीकृष्णको बाल्कोनीमा पुगेर कलाकारले दर्शकलाई अभिवादन गर्थे । फिल्मवृत्तमा यो हलको प्रभाव यतिसम्म थियो कि कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने निर्धारण यो हलको कलेक्सनले गर्थ्यो ।
गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो । कर तिराउन भन्दै महानगरका अधिकृतहरु हलमै पुगेर एक साताभित्र तिर्न ताकेता गरेका थिए । स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका हल बन्द रहेका थिए ।
संघका अनुसार पहिले ४५० हल रहेकोमा अहिले आएर मुलुकमा डेढ सय जति मात्र हल छन् ।

