धनगढी । डा. गोविन्द केसीले धनगढीबाट अनशन सुरु गरेका छन् । विहिबार धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा पत्रकार सम्मेलन गरेर अनशन सुरु गरेका हुन् ।
डा. केसीले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित र केही अन्य गरी पाँचबुँदे माग अघि सारेका छन् । स्थापित नियम र मूल्यमान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू बदर गर्नुपर्ने माग उनले अघि सारेका छन् । विश्वविद्यालयको ऐनका विवादित प्रावधानहरू संशोधन गर्नुपर्ने माग उनले राखेका छन्।
चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने उनको माग छ । डा. केसीले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन र विगतमा भएका आफूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
त्यस्तै, गत वर्ष भदौ २३ र २३ गते जेन–जी आन्दोलनका क्रममा जघन्य हत्या, आगजनी, लुटपाट र विनाशमा संलग्नलाई कारबाही गर्न तथा ०४६ सालदेखि हालसम्म उच्चपदस्थ, राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनले माग गरेका छन् ।
पत्रकार सम्मेलनमा केसीले गेटा मेडिकल विश्वविद्यालयका नाममा मेडिकल माफियाको स्वार्थ पूर्ति गर्ने काम भइरहेको आरोप लगाए । दशकौँदेखि विशिष्ट सेवा दिँदै आएका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता स्थापित संस्थालाई पन्छाएर गेटामा नयाँ संरचना थोपर्नु र ऐनमा विवादित प्रावधान राखेर आफूअनुकूल निजी संस्थाका व्यक्तिलक्षित कुलपति र उपकुलपति नियुक्त गरिएको केसीको आरोप छ।
चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तीन वर्ष शिक्षण अस्पताल चलाएको हुनुपर्ने व्यवस्था भएकाले गेटामा पहिले शिक्षण अस्पताल सञ्चालन गर्न र त्यसपछि मात्र चिकित्सा शिक्षा पठनपाठन सुरु गर्नुपर्ने उनले बताए । यी मागहरू सम्बोधन गर्न साउन ५ गतेसम्मको समय दिइए पनि सरकारले पूर्ण रूपमा बेवास्ता गरेकाले आफूले अनशन सुरु गरेको उनको भनाइ छ।