काठमाडौं । एक महिनाको पोखरा बसाइपछि आज आइतबार काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी राजावादीहरूले गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्या पारेर उनले फागुन ६ गते जारी गरेको भिडिओ सन्देशयता चर्चामा रहेका शाहलाई आज भव्य स्वागतको तयारी गरिएको हो । गणतन्त्रवादी दलहरूले ‘व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको’ भन्दै उनले दिएको भिडिओ सन्देशबाट मुलुकका प्रमुख राजनीतिक दलहरू समेत सशंकित हुँदै आएका छन् ।
भिडिओ सन्देशमार्फत पूर्वराजा शाहले जनताको भलोका लागि आफूले ओहोदा र सुखसुविधा त्यागेको दाबी गर्दै राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरूलाई चेतावनी दिएसँगै राजावादी शक्तिहरू पनि निकै उत्साहित भएर राजाको पक्षमा विभिन्न अभिव्यक्तिहरू दिन थालेका छन् । नेपालको उन्नतिका लागि गद्दी त्याग गरेको र जनहितका लागि अन्य कुरा पनि त्याग्न तयार रहेको पूर्व राजाको भनाइ छ ।
यसैबीच आज पोखराबाट काठमाडौं फर्किन लागेका पूर्वराजा शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको बताइएको छ । त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरूलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । यी दुई दलका साथै अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारी गरेको बताइएको छ ।
काठमाडौं उपत्यका आसपासका जिल्लाबाट काठमाडौं उत्रिएकाहरूलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्बिर अङ्कित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।
कहाँ–कहाँबाट निकालिँदै र्याली ?
उनीहरूले काठमाडौं र आसपासका जिल्लाहरूबाट व्यापक जनता काठमाडौंमा उतार्ने तयारी गरेका छन् । राप्रपाबाट स्वागतको चाँजोपाँजो सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरूको र्याली तीनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरू महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने सांसद शाहीले जानकारी दिए । उनका अनुसार यसैगरी अन्य समूहहरूले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि र्याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पुर्याउन जाने छन् ।
‘फागुन २५ गते दिनको १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको आगमन हुने भएको हुँदा सबै राष्ट्रवादी साथीहरूलाई उपस्थिति हुन आह्वान गर्दछु,’ सांसद शाहले भने, ‘यो कार्यक्रममा सबै देशभक्त सांसद, मन्त्री उच्च ओहोदाका व्यक्तिहरू सामेल हुन सक्नुहुनेछ ।’
काठमाडौंको सुरक्षा व्यवस्था कडा
राजावादीहरूको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । भिड अनियन्त्रित भइ हुनसक्ने सम्भावित जोखिमको ख्याल गर्दै सरकारले सुरक्षा व्यवस्था मिलाएको बताइएको छ । पूर्वराजाका समर्थकको प्रदर्शनलाई दृष्टिगत गर्दै विमानस्थलको गोल्डेनगेटबाट ११ बजेदेखि प्रवेशमा कडाइ गरिएको छ भने तीनकुने–गौशालाको ट्राफिक रुट डाइभर्ट गरिएको छ । अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
किन हल्लिदैछ दलहरूको मुटु ?
२०६२/०६३ को जनआन्दोलनले जसरी तत्कालीन राजसंस्थाको अन्त्य गरी लोकतन्त्र र सङ्घीय गणतन्त्रको अवस्था सृजना गर्या आज त्यही स्थिति राजसंस्था फर्काउन प्रकट हुने हो कि भन्ने चिन्ता गणतन्त्रवादी दलहरूमा परेको छ । गणतन्त्र आए पनि जनताको अवस्थामा कुनै फेरवदल नआएको आम गुनासोलाई राजावादीहरूले नेतृत्व गरे भने व्यवस्था बदलिन समय नलाग्ने कुरामा दलका नेताहरू प्रष्ट छन् । यद्यपि, दलहरूले मसानघाटमा पुगिसकेको राजसंस्था अब कुनै पनि हालतमा नब्युँतिने भन्दै आफ्ना कार्यकर्ता र आम जनतालाई ढाडस दिइरहेका छन् ।
त्यसो त पार्टी खोलेर जनताको मन जिती व्यवस्था बदल्न पनि पूर्वराजालाई दलहरूले चुनौती दिँदै आएका छन् । तर, राजावादीहरू हिजो जसरी राजसंस्था ढालियो त्यही बाटोमार्फत पुनः उठाउने प्रतिबद्धताका साथ अघि बढेका छन् । दलका नेताहरूले बाहिर ढाडस दिएजस्तो उनीहरू स्वयम् विद्यमान व्यवस्था जोगिने कुरामा ढुक्क पनि छैनन् । उनीहरूका कतिपय अभिव्यक्तिहरूले गणतन्त्रवादी दलहरू आत्तिएको स्पष्ट हुन्छ ।
आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै, सेनासहित सबै सुरक्षा संयन्त्र परिचालन हुने
FACEBOOK COMMENTS