काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरे ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर प्रभावकारी रूपमा नसमेट्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने बताए । “कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ । हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने ।
अध्यक्ष श्रेष्ठले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई साक्षीका रूपमा उपस्थित गराउने नभई वास्तविक साझेदारका रूपमा सहभागी गराउनुपर्ने धारणा राखे । अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यावसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।
सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणको नभई विश्वास र साझेदारीको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण सहज र लगानीमैत्री बनेमा निजी क्षेत्र बलियो हुने र त्यसबाट समग्र अर्थतन्त्र तथा सरकारको राजस्वसमेत स्वत: बढ्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
पर्यटन नेपालको रोजगारी, विदेशी मुद्रा आर्जन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण आधार बन्न सक्ने भन्दै पर्यटनलाई केवल आगन्तुकको संख्या बढाउने क्षेत्रका रूपमा नभई उच्च मूल्य सिर्जना गर्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान कति छ भन्ने विषयमा समेत स्पष्ट र विश्वसनीय तथ्यांक आवश्यक रहेको बताए । “पर्यटनको अर्थतन्त्रमा वास्तविक योगदान कति हो भन्ने कुरा तथ्यांकमा स्पष्ट हुनुपर्छ । पर्यटनलाई प्राथमिकतामा राख्ने हो भने यसको योगदान, सम्भावना र प्रभावको पनि सही मूल्यांकन हुन आवश्यक छ,” उनले भने ।
नेपालको अर्थतन्त्र लामो समयसम्म रेमिट्यान्समा निर्भर रहँदा जोखिम बढ्न सक्ने भन्दै अध्यक्ष श्रेष्ठले उत्पादनमूलक क्षेत्रको विस्तार र विदेशी मुद्रा आर्जनका अन्य दिगो स्रोत विकास गर्नुपर्ने आवश्यकता औँल्याए । पर्यटन, निर्यात, सूचना प्रविधि तथा अन्य सेवा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सके मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सकिने उनको धारणा थियो ।
पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटी, गन्तव्य विकास, सेवा गुणस्तर र लगानीमैत्री वातावरणमा सुधार आवश्यक रहेको बताए । साथै, निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्यबाट मात्रै पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न सकिने उनले उल्लेख गरे ।
श्रेष्ठले विमानस्थल निर्माण मात्र पर्याप्त नहुने भन्दै काठमाडौंसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित, पर्याप्त र प्रतिस्पर्धी हवाई उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।