काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । पहिलो चरणका लागि छुट्याईएको सम्पूर्ण कित्ता शेयर बाँडफाँट भैसकेको अवस्थामा दोस्रो चरणको आईपीओ विक्री गर्ने तयारी कम्पनीले गरेको हो ।
कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० को २० प्रतिशत आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको १० प्रतिशत शेयरमध्ये पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने १ लाख २१ हजार ८६८ कित्ता शेयर बाँडफाँट गरेको हो ।
प्रतिशेयर रू। १०० अंकित मूल्यका रू। १ करोड २१ लाख ८६ हजार ८०० बराबरको १ लाख २१ हजार ८६८ कित्ता सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो । २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १ लाख १ जार १५१ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ९ गतेसम्म विक्री अवधि तय गरिएको छ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र विक्रीमा रहने निपिश्चत छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू। २४ करोड ७५ लाख ५७ हजार ३३१ रहेको छ भने प्रतिमेगावाट लागत रू। २४ करोड ८० लाख ५३ हजार ४३७ रहेको छ ।
FACEBOOK COMMENTS