काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ आगामी शनिबारदेखि शुरू हुने भएको छ ।
यसअघि चैत १८ गते शुक्रबारदेखि नै आयोजना गर्ने मिति तय गरिए पनि एक दिन ढिलो गरी शनिबारदेखि एक्स्पो आयोजना गर्न लागिएको इपानले जनाएको छ । शुक्रबार घोडेजात्रा परेकाको तथा एक्स्पो आयोजनास्थलनजिकै नेपाली सेनाको विशेष कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित बन्न सक्ने निष्कर्षका साथ एक दिन पछि सारिएको इपानले प्रष्ट पारेको छ ।
‘क्रियटिङ मार्केट्स फर नेपाल्स हाइड्रोपावर’ नाराका साथ आयोजना गर्न लागिएको एक्स्पोले नेपालमा उत्पादति बिजुलीको खपत वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने विश्वास आयोजकले लिएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावरसम्बन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया सञ्चालन गरिने पनि इपानले जानकारी दिएको छ ।
एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरुलगायत १०० वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा विदेशी स्टलसमेत रहेका छन् । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।
एक्स्पोबारे जानकारी दिन आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरु एवम् व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने छ ।
त्यस्तै हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भनी ड्रोन भिडियो मेकिङ कम्पिटिशन समेत समेत आयोजना गरिने जानकारी दिइएको छ । यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने हाम्रो विस्वास आयोजकको छ ।
विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान र गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुने छ ।
एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकोप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुयाउने विश्वास गरिएको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अबलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो वितरण गरिने छ ।
एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मध्याह्न १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एक्स्पोको पहिलो दिन शनिबार बिहान ७ बजे विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
विद्युतको आन्तरिक बजारलाई प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन नेपाल सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको र्याली काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुने छ ।
एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आईएफसीलगायतका संघ संस्थाहरुले प्रायोजन गरेको छ । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेको जानकारी दिइएको छ ।
साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघको एक्स्पोलाई सहयोग रहेको छ । एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
यो पनि पढ्नुहोस्–
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पहिलो शर्त ऊर्जाको अधिकतम उत्पादन र खपत हो (भिडियोसहित)
FACEBOOK COMMENTS