काठमाडौं । शनिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘हिालयन हाइड्रो एक्स्पो, २०२२’ को अन्तिम दिन आज जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल हुने भएको छ ।
आज हुने उक्त छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् । भुसालसँगै सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णकुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुने जानकारी आचार्यले दिएका छन् ।
आज दिउँसो १ बजेदेखि शुरू हुने उक्त सेसनमा जलविद्युतका सम्बन्धमा घनीभुत छलफल हुने भएकाले इच्छुक सहभागीहरूलाई सेमिनारमा सहभागी हुन एक्स्पोका आयोजक संस्थाद्वय इपान र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसले आग्रह गरेका छन् ।
इपान कार्यसमिति सदस्य प्रकाश दुलालका अनुसार उक्त सेसनमा जलविद्युतको विकासका सम्बन्धमा नीतिगत विषयमा गहन मन्थन हुने छ ।
FACEBOOK COMMENTS