काठमाडौँ । इरानमा इन्टरनेट सेवा बन्द भएको अवधि ३७औँ दिनमा पुगेको छ । इन्टरनेट अनुगमन समूह नेटब्लक्सका अनुसार देशको बाह्य कनेक्टिभिटी सामान्य अवस्थाको करिब १ प्रतिशतमा सीमित भएको छ ।
रिपोर्टअनुसार अधिकांश नागरिक ८६४ घण्टाभन्दा बढी समयदेखि इन्टरनेट पहुँचबाट वञ्चित छन् । नेटब्लक्सले यस अवस्थालाई अहिलेसम्मकै सबैभन्दा लामो र व्यापक राष्ट्रियस्तरको इन्टरनेट बन्दीको रूपमा वर्णन गरेको छ ।
मिडिया रिपोर्टका अनुसार केही सरकारी अधिकारी, सरकार समर्थक प्रयोगकर्ता र पत्रकारहरूले भने अझै अवरोधरहित इन्टरनेट प्रयोग गर्न पाइरहेका छन् । तर सर्वसाधारणले अनलाइन हुन उच्च रकम तिर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
केही नागरिकले उपग्रह इन्टरनेट सेवा स्टारलिंक मार्फत इन्टरनेट चलाउने प्रयास गरिरहेका छन्, तर यो अत्यन्त महँगो पर्ने गरेको छ । इरानमा स्टारलिंक प्रयोग गर्नु गैरकानुनी मानिन्छ र त्यसका लागि दुई वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।
अधिकारीहरूले यस्ता उपकरणमाथि कडाइ बढाएका छन् । युद्ध सुरु भएयता सयौँ स्टारलिंक उपकरण जफत गरिएको समेत रिपोर्टमा उल्लेख गरिएको छ ।

