काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपतकालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १:१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।
तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका-१३, देवीटारस्थित खिम्ती-लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो ।
टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको थियो । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत प्रवाह हुन सक्छ ।
खिम्ती-लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युतलाई लामोसाँघु-भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरूको विद्युत लामोसाँघु-खिम्ती-ढल्केवर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि भारततर्फको विद्युत निर्यातसमेत प्रभावित भइरहेको थियो ।
अहिले ईआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरू भइसकेको बताइएको छ ।
प्राधिकरणले आफैंसँग रहेको ईआरएस संरचनाको प्रयोग गरी खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । ईआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर ईआरएस टावर राखिएको हो ।
FACEBOOK COMMENTS