काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि अहिले देशव्यापीरूपमा सरकारको विरोध भइरहेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारको यो कदमको विरोध गरिरहेका छन् भने सरकारबाहिर रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एसलगायत दलका विभिन्न सङ्गठनहरूले पुत्ला जलाउने, प्रदर्शन गर्नेजस्ता काम गरी विरोध जनाइरहेका छन् । ती प्रदर्शनहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनेक किसिमका नारा समेत लगाइएका छन् ।
यसैबीच नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा समेत प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ । सो बोर्डमा ‘केपी चोर देश छोड’ नारा लेखिएको तस्बिरहरू अहिले सामाजिक सञ्जालहरूमा व्यापक साझा गरिएका छन् ।
सरकारले कुलमानलाई हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हटाएको भए पनि प्रधानमन्त्रीविरुद्ध सो नारा सोमबार दिउँसै लागेको बताइएको छ । सोमबार मध्याह्न सो डिजिटल बोर्डमा त्यस्तो आपत्तिजना नारा देखिएको हो । करिब एक घण्टासम्म सो नारा डिस्प्ले भएको बताइएको छ ।
प्रधानमन्त्रीविरु सरकारी कार्यालयको डिजिटल बोर्डमै यस्तो नारा लेखिनु गम्भीर आपत्तिको विषय भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टीकरण दिन प्राधिकरणलाई आग्रग गरेको छ । प्राधिकरणले भने डिजिटल बोर्डका विषयमा कुनै आधिकारिक धारणा दिएको छैन ।
यो पनि पढ्नुहोस्–
कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूले जलाए ऊर्जामन्त्रीको पुत्ला
कुलमानलाई बर्खास्त गरिएपछि प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि बढाइयो सुरक्षा
FACEBOOK COMMENTS