म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।
गलेश्वर बजारको २।५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिए ।
सडकबत्ती जडान गर्न कुल दुई लाख ३० हजार सात सय ५० खर्च भएको उनले जानकारी दिए । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र सवारीसाधनमा आवतजावतका लागि सहज भएको छ ।
“गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ”, अध्यक्ष रेग्मीले भने, “मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गछौं ।” सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताए ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।
गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ ।
साउन महिनाको सोमबार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
FACEBOOK COMMENTS