काठमाण्डौ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र भोटेकोसी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
उनीहरू कोरोला नाका हुँदै काठमाण्डौतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन् । ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा समेत रहेको थियो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको भट्टले बताए ।