काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १२.२३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धिमा मुख्यत: खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी र सञ्चालन आम्दानीमा भएको सुधारको योगदान देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ७ करोड रुपैयाँ थियो। यस आधारमा खुद ब्याज आम्दानी करिब ११ प्रतिशतले बढेको छ।
बैंकको शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी पनि बढेको छ। चौथो त्रैमाससम्म यस्तो आम्दानी १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ५८ करोड रुपैयाँभन्दा केही बढी हो। यसैगरी बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको कर्जा विस्तार पनि बढेको छ। बैंकको कुल कर्जा तथा सापटी १ खर्ब ६३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा १ खर्ब ४१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो। यसअनुसार एक वर्षमा बैंकको कर्जा लगानी करिब १५.९ प्रतिशतले बढेको देखिन्छ।
बैंकको निक्षेप संकलन पनि उल्लेख्य बढेको छ। चौथो त्रैमाससम्म बैंकको कुल निक्षेप २ खर्ब २० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। अर्थात् एक वर्षमा बैंकले करिब ३६ अर्ब रुपैयाँले निक्षेप बढाएको छ।
तर कर्जा विस्तारसँगै बैंकको खराब कर्जा अनुपात भने ३.९८ प्रतिशतमा रहेको छ। यसले बैंकको कर्जा गुणस्तरमा अझै दबाब रहेको देखाउँछ। बैंकको कुल कर्जामध्ये खराब कर्जाको हिस्सा ४ प्रतिशतको आसपास पुगेकाले आगामी दिनमा कर्जा असुली र जोखिम व्यवस्थापन बैंकका लागि महत्वपूर्ण चुनौती रहने देखिन्छ।
बैंकको आधार दर तथा कोषको लागतमा पनि सुधारको आवश्यकता देखिन्छ। समीक्षा अवधिमा बैंकको कोषको लागत ७.७५ प्रतिशत रहेको छ भने कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर अर्थात् नेट ब्याज स्प्रेड ३.४८ प्रतिशत रहेको छ।
बैंकको वितरणयोग्य नाफा भने करिब ९८ करोड ६७ लाख रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफाका आधारमा प्रतिसेयर वितरणयोग्य आम्दानी ७.५१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८.०६ रुपैयाँ रहेको थियो।
बैंकको प्रतिसेयर आम्दानी १७.४९ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १५.५९ रुपैयाँ थियो। यसअनुसार बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। सञ्चित तथा जगेडा कोषसहित बैंकको कुल इक्विटी पनि बढेको छ। बैंकको कुल सम्पत्ति २ खर्ब ५६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
बैंकको पुँजी पर्याप्तता अनुपात १३.९८ प्रतिशत रहेको छ भने सीईटी–१ अनुपात १०.०४ प्रतिशत रहेको छ। बैंकको इक्विटीमा प्रतिफल अर्थात् आरओई १०.३६ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ।