खलङ्गा । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् ।
दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।
आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ ।
भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
यसैबीच भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगङ्गा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ ।
बाँधको ढोका खोलेका बेला महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको उनले बताए । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाव बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यसअघि यही सार १५ गते पनि उक्त बाँधको ढोका खोलिएका थिए ।
FACEBOOK COMMENTS