काठमाडौं । भोलि बुधबार संसदमा टेबुल हुन लागेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ले विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको छ । जानकारी अनुसार भोलि बुधबार १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिने भएको छ । उक्त विरोध प्रदर्शनमा हाम्रो नेपाल हामी नेपालीले सबै स्वतन्त्र नागरिकहरुलाई उपस्थित हुन अपिल समेत गरेको छ ।
यसैबीच सामाजिक अभियन्ता भनिने ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै भोलि संसदमा टेबुल गर्न लागिएको बताए । उनले जननिर्वाचित सांसदहरुलाई उपस्थित भएर एमसीसी पारित गर्न नदिन पनि आग्रह गरेका छन् ।
‘जनताबाट निर्वाचित सांसदहरुले जनताको कुरा सुन्नुपर्छ, आफ्नो निर्वाचन क्षेत्रको जनताको कुरा सुन्नुपर्ने तर विडम्बना हाम्रो देशमा त्यस्तो पद्धति छैन,’ उनले भने, ‘एमसीसी जस्तो राष्ट्रघाती चिज भोलि सदनमा टेबल गर्ने कुरा आएको छ र एमसीसीको विरोध गर्र्दै आएका सभामुख अग्नीप्रसाद सापकोटा पनि टेबल गर्न सहमत हुनुभएको छ ।’
अभियन्ता शाहीले नेकपा एकीकृत समाजवादी र माआवादी केन्द्रले आफ्ना सांसदलाइृ सदनमा अनुपस्थित गराएर एमसीसी पारित गर्न सहयोग गर्न लागेको समेत बताएका छन् । ‘भोलि सबै सांसद उपस्थित भएर एमसीसीको विरोध गर्नुपर्छ,’ शाहीले भने । भोलि संसदमा नजाने सांसदहरुलाई नेपाली जनताले हिसाब किताब गर्ने पनि चेतावनी दिए ।
FACEBOOK COMMENTS