काठमाडौं । राष्ट्रिय सभाकी सांसद गोमादेवी तिमिल्सिनाले महिलाहरूमा हुने महिनावारीबाट पुरुषहरू पनि पीडित रहेको बताएकी छिन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा सांसद मदन कुमारी शाह (गरिमा)ले प्रस्तुत गरेको ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले महिलाले चुल्हो छाड्दा घरको चुल्हो नै निभ्ने र त्यसबाट पुरुषहरू पीडित रहेको बताएकी हुन् ।
सांसद गरिमा शाहले राखेको महिनावारीसम्बन्धी सङ्कल्पमा समर्थन जनाउँदै उनले भनिन्, ‘आज प्रस्तुत सङ्कल्प प्रस्तावको समर्थक र प्रस्तावकहरू त महिलाहरू नै हुनुहुन्थ्यो । तर, पुरुष माननीयज्यूहरूले पनि धेरै यसलाई समर्थन गर्नुभयो । मलाई लाग्छ उहाँहरू पनि पीडित हुनुहुन्छ यस विषयले । किनभने घरको महिला (आमा, छोरी, बुहारी) महिनावारी भएर बाहिर निस्किँदा त्यो घरमा चुल्हो तात्दैन/बल्दैन ।’
महिला नुहँदा घरको चुल्हो नतात्ने चर्चा गर्दै उनले अगाडि भनिन्, ‘घरमा चुल्हो नबलद स्कुल जाने साना–साना बच्चाहरू भोकभोकै हुन्छन् र पुरुषहरू भान्सामा गएर चुल्हो तताउने त्यत्ति पारखीपन हुँदैन । त्यसैले गाउँमा गएर खेतालै खोजेर त्यो चुल्हो तताउनुपर्ने परिवेशमा हामी हुर्किरहेका छौँ । २१औँ सताब्धीमा पनि त्यसैमा रुमलिइरहन हुँदैन भनेर यो सङ्कल्प प्रस्ताव आएको छ । यो प्रस्ताव हामीले यहाँ (राष्ट्रिय सभा) बाट पारित गरेर अघि बढ्नुपर्छ ।’
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले दिएपछि प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । सङ्कल्प प्रस्तावमा उल्लेखित विषयहरूको कार्यान्वयनका लागि मन्त्री साहले सभामा व्यक्त गरेका प्रतिबद्धता समेतका आधारमा उक्त प्रस्तावमा उल्लेखित विषयहरूको कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन समेत दियएको छ ।
साथै, प्रस्तावमा उल्लेखित विषयहरूको कार्यान्वयनबारे अनुगमन गर्न विषयगत समितिहरूलाई पनि निर्देशन दिइएको छ ।
FACEBOOK COMMENTS