काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको ‘मोटरसाइक्लिङ फेस्टिभल’ अब ‘मोटरसाइक्लिङ कार्निभल’मा रूपान्तरित भएको छ ।
यसअघि मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्षदेखि मोटरसाइक्लिङ कार्निभलको रूपमा सो इभेन्ट आयोजना हुने नासाले जनाएको छ । उक्त इभेन्ट यही सेप्टेम्बर २७ र २८ अर्थात् आगामी शुक्रबार र शनिबार पर्यटकीय नगरी नगरकोटमा आयोजना हुने नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भ पारेर सो इभेन्ट आयोजना गर्न लागिएको र यो इभेन्टले टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने सो कार्यक्रमले दिगो पर्यटन, ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र मोटरसाइक्लिङ सेफ्टीमा विषेश अर्थ राख्ने भट्टराईले बताए ।
उनका अनुसार कार्यक्रमको सुरुवात सेप्टेम्बर २७ को अन्तरक्रियाबाट हुनेछ, जसको विषय बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ रहनेछ । सेप्टेम्बर २८ का दिन काठमाडौंदेखि नगरकोटसम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल र्याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।
यस्तै, टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा ई. गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण गर्नेछन् । यी सबै विषयमा विभिन्न विज्ञहरूले टिप्पणी गर्नेछन् ।
मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरू आयोजना गरिने छन् । सो अवसरमा केही भ्लगरहरूले राइडिङ र टुरिङसम्बन्धी आफ्ना अनुभवहरू सेयर गर्नेछन् ।
एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालको टुरिजम कमिसनले जनाएको छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा एड्भञ्चर स्पोर्टस्, टुरिजम स्पोर्टस्, ड्राइभ टुरिजम र टु ह्विल टुरिङका यस वर्षका कार्यक्रमहरू धोषणा गरिने छ ।
कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स स्पोर्टस् क्लवको सहयोग रहने छ ।
नासा नेपालले विगत देखि नै टु ह्विल टुरिङमा नेतृत्वदायी भूमिका खेलिरहेको र एनटीबी तथा एफआईएमको सहयोगमा विभिन्न डेस्टिनेसनहरू रहेको गाइडलाइन सार्वजनिक गरिसकेको छ । विश्वमै मोटरसाइकल टुरहरू धेरै लोकप्रिय छन् र विस्तारै नेपालमा समेत मोटरसाइकल टुरको गन्तव्य बन्दै गएको छ ।
FACEBOOK COMMENTS