काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो ।
समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेश गर्न निर्देशन दिए । ‘न्यारोबडी जहाजको इञ्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना छ,’ समितिलाई निर्देशन दिँदै उनले भने, ‘निगमले समितिलाई विश्वास दिलाउनुपर्छ । यसमा भ्रष्टाचार भएको होइन, यी कारणले विलम्ब भएको भनी विस्तृत र ठोस रुपमा जवाफ दिनुप¥यो ।’
सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्नेगरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताए ।
गत मङ्सिर १५ गतेदेखि ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज गत पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो । उक्त जहाज मर्मतपछि आगामी वैशाख १५ गतेभित्र काठमाडौँ आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ ।
सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताएका छन् । ‘उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ । न्यारोबडी जहाससम्बन्धी सम्झौताको बेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुप¥यो । होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ,’ उनले भने । बैठकमा सांसदहरुले निगमको न्यारोबडी जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गरेका थिए ।
FACEBOOK COMMENTS