काठमाडौं । अटो मोबाइल्स् एसोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीतिमार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैं पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका छन् ।
आज पत्रकारसँगको कुराकानीमा थापाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा अटो व्यवसायलाई अनुत्पादक क्षेत्रभित्र राखेर सधैं पेल्ने नीति नाडाले स्वीकार गर्न नसक्ने बताएका हुन् ।
उनले सरकारले एउटा क्षेत्रमा सुधार गर्नुपर्ने भए पनि अटो मोबाइल्स् क्षेत्रको नाम उल्लेख नगरी कडाइ गर्न खोजेको बताएका छन् । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा नाडाका माग सम्बोधन नभएको थापाले गुनासो गरेका छन् ।
अध्यक्ष थापाले मौद्रिक नीतिको समीक्षामा एलसी मार्जिनमा ब्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समीक्षा भएको बताए । मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्रमा असर पर्ने देखिएको अध्यक्ष थापाको भनाई छ ।
उनले पछिल्लो मुलुकको परिस्थिति अनुसार केही समय धैर्य गर्न सक्ने भएता पनि कति समय धैर्यता कायम गर्ने भन्ने विषय प्रमुख भएको उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS