काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले भन्सार मूल्याङ्कन सन्दर्भसूचि नै खारेजगरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा गर्न माग गरेको छ ।
सोमबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ७ सदस्यिय प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गर्दै थापाले सो कुरा बताएका थिए ।
छलफलका क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूचि नै खारेजगरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा गर्न माग राख्नुका साथै भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गरेको नाडाले जनाएको छ।
थापाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेको पनि बताएका छन् ।
उनले सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरि दिनु हुन आग्रह समेत गरेका छन् ।
त्यस्तै, छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भईरहेकोले त्यसको समाधानका लागि अनुरोध गरेका थिए ।
त्यसैगरि, उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरु बारे बताउदै एउटै वस्तुमा भिन्न भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्कीय बस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
रिजालले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरण गर्न समेत माग राखेका छन् ।
सोही छलफल कै क्रममा महासचिव सुरेन्द्र उप्रेतिले २०७३ अषार २६ गते भन्सार विभाग र नाडा विच भएको सहमतिबारे जानकारी दिदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिए संगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरेका थिए ।
त्यसैगरी महासचिव उप्रेतिले नेपालमा व्याट्री उत्पादनका संभावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने व्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरेका छन् ।
FACEBOOK COMMENTS