काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा नाडाका संस्थागत |(प्रादेशिक) एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो, जसमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा विस्तृत छलफल गरिएको नाडाले जनाएको छ ।
कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले विभिन्न समस्याहरू उठाउँदै समाधानको लागि आग्रह गरेका थिए। कर तिर्ने व्यवसायीहरूले सरकारी तहमै उचित सम्मान नपाएको, सीमापारीबाट अटोमोबाइल प्राविधिज्ञहरू आउने कारण साना व्यवसायीहरू प्रभावित भएको, बैंकहरूले ऋण दिन अप्ठेरो बनाएको, यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्स वितरणको समस्या रहेको लगायतका मुद्दाहरू छलफलका केन्द्रविन्दु थिए।
नाडाका अध्यक्ष करण चौधरीले विभिन्न प्रश्नहरूको जवाफ दिँदै, सरकारले हालै अध्यादेशमार्फत ल्याएको ऐनले नाडाका धेरै मागहरू सम्बोधन गरेको जानकारी गराए। उनले सन्दर्भ मूल्यसूची समयानुकूल बनाउन सरकारलाई निरन्तर आग्रह गरिरहेको तथा प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयहरू सँग छलफल भइरहेको बताए। साथै, बीबीआईएन ९बङ्गलादेश, भुटान, भारत, नेपाल० सहमतिको सन्दर्भमा नेपालका अटोमोबाइल व्यवसायीहरूलाई पर्ने असरबारे सरकारसमक्ष धारणा राखिएको जानकारी गराए।
लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए।
भर्चुअल माध्यमबाट समेत गरिएको कार्यक्रममा नाडाका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रममा हेटौंडा अटोमोवाइल्स एशोसिएशन, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, कर्णाली अटोमोबाइल्स एशोसिएशन लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए।
कार्यक्रमको अन्त्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले नाडाका अध्यक्ष करण चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए।
नाडाले यस्ता अन्तरक्रिया कार्यक्रमहरू विगतमा गर्दै आएको र भविष्यमा पनि निरन्तर आयोजना गरिने बताइएको छ। आउँदो फागुन ३ गते बुटवलमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको चौथो वार्षिक साधारण सभा आयोजना हुने अवसर पारेर यो कार्यक्रम राखिएको थियो।
FACEBOOK COMMENTS