बुटवल । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा कर, भन्सार तथा भीसीटीएस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरूका लागि आज शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना गरिएको उक्त ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरूसहित १२५ जनाको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देशभर छरिएर रहेका सदस्यहरूको समस्यासँग जुध्न र उनीहरूको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा व्यक्त गरे । सबै क्षेत्रका व्यवसायीको व्यावसायिक कार्यक्षमता विकास आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरूले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।
त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने विश्वास व्यक्त गरे ।
यस्तै राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भीसीटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृत्ति पूर्णरूपमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने, ‘कर छलीमा राजश्व अनुसन्धानले शून्य सहनशीलताको नीति अपनाइएको हो ।’
कार्यक्रमको अध्यक्षता गरेका लुम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरूको वृत्ति विकासमा ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरूलाई अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रूपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल थिए । कार्यक्रममा नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल र सदस्यय मुना श्रेष्ठलगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS