काठमाडौं । नेपाल कमर्सियल आर्टिस्ट संघको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ ।
‘कलाकारहरूको हकहित संरक्षण, पहिचान र सम्मान’ नाराका साथ काठमाडौंको गोंगबुस्थि तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् (तमु समाज हल)मा महाधिवेशन सुरू भएको हो ।
संघका अध्यक्ष चन्द्र प्रसाद राजबंशीको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली राईले अरनिकोको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरेर गरे । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर र केके कर्माचार्य, उपकुलपति लालकाजी लामा विशेष अतिथि थिए ।
यसैगरी, ललितकला क्याम्पसका प्राध्यापक तथा वरिष्ठ कलाकार राधेश्याम मुल्मी, नेपाल राष्ट्रिय ललितकला संघका अध्यक्ष दीपेन्द्र बनेपाली, वरिष्ट कलाकार बीके नरबहादुरलगायतका अतिथिहरू उद्घाटन सत्रमा उपस्थित थिए ।
महाधिवेशन उद्घाटन सत्रका वक्ताहरूले कलाकार साधारण श्रमिक मात्र नभएको भन्दै आफूहरूले कलाकारको रूपमा जिउन र पहिचान बनाउन चाहेको धारणा व्यक्त गरे । संघका अध्यक्ष चन्द्र प्रसाद राजवंशीले भने, ‘हामी साधारण श्रमिक होइनौँ, कलाकार हौँ र कलाकारकै रुपमा बाँच्न चाहान्छौँ ।’
यस्तै, उनले कलाको मूल्य तोक्ने अधिकार केवल कलाकारलाई मात्र भएको भन्दै कलाकारको शीप र कलाको मूल्य अरुले तोक्न नमिल्ने बताए । राज्यले कलाकारलाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै उनले उपेक्षाको क्रम जारी रहे शीप र कलाका धनी कलाकारहरू पलायन हुने स्थिति आउनेतर्फ राज्यलाई सचेत गराए । आफ्नो पहिचानका निम्ति सबै कलाकारहरू संगठित र एकजुट हुन उनले आह्वान समेत गरेका छन् ।
आज र भोलि हुने महाधिवेशनअन्तर्गत भोलि संघको नयाँ नेतृत्व चयन गरिने संघका महासचिव चित्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आजै सुरू हुने बन्दसत्रमा जिल्लागतरुपमा रिपोर्टिङ, संस्थाको कार्यप्रगतिबारे सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेस गरिने छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आएका छन् ।
FACEBOOK COMMENTS