काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले प्रविधिमा आधारित वनीनतम् बैंकिङ र वित्तीय सुविधा प्रदान गरेका कारण नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पूर्वाधार विकासमा ठूलो लगानी गर्न परेको छैन ।
एनसीएचएलले नेपालमा विभिन्न भुक्तानी प्रणालीहरूका साथै क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना गरी सुलभ सुविधा प्रदान गरेका कारण बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमा आधारित नवीनतम् सुविधाका लागि थप ठूलो लगानी गर्न नपरेको हो ।
‘प्रविधिमा आधारित बैंकिङ र वित्तीय सुविधाहरूले बैङ्क र वित्तीय संस्थाहरूको दक्षता र उत्पादकत्व सुधार गर्न तथा उनीहरूका ग्राहकहरूलाई नवीन वित्तीय सुविधाहरू प्रदान गर्नका लागि प्रमुख भूमिका खेल्दछ,’ एनसीएचएलकी प्रमुख सञ्चालक अधिकृत तथा सूचना अधिकारी मुन्नी राजभण्डारीले भनिन्, ‘हामीले ठूलो लगानी गरेर त्यससम्बन्धी सुविधा उपलब्ध गराएका कारण नेपालका बैङ्क र वित्तीय संस्थाहरुले पूर्वाधारमा ठूलो लगानी गर्नुपरेको छैन ।’ एनसीएचएलले प्रविधिमा आधारित विभिन्न भुक्तानीसँग सम्बन्धित सेवाहरू प्रदान गर्दै सहजीकरण गरिरहेको उनको भनाइ छ ।
नेपालमा विभिन्न भुक्तानी प्रणालीहरूका साथै क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना गर्दै अघि बढिरहेको एनसीएचएलले आफ्ना विभिन्न १० वटा प्रडक्टमार्फत यससम्बन्धी सुविधा प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार हाल कम्पनीले इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–ईसीसी), अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएलएल–आईपीएस), रिटेल पेमेन्ट स्विच (आरपीएस), कनेक्ट आईपीएस, नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कर्पोरेट–पे, कनेक्ट आरटीजीएस, नेपाल–पे क्यूआर, ईएफटी कार्ड सर्भिसेस र नेशनल अर्काइभ सिस्टममार्फत मुलुकमा नवीन वित्तीय सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा १०० भन्दा बढी गैर–बैंकिङ्ग संस्थाहरू ‘इनडाइरेक्ट टेक्निकल मेम्बर’को रूपमा आवद्ध रहेको बताइएको छ । यी विभिन्न माध्यममार्फत १२.६१ करोड पटकको कारोबारबाट आर्थिक वर्ष २०८०/०८१ मात्रै १५ खर्ब ५५ अर्ब ७० करोड रुपैयाँ कारोबार भएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा ८ पुस, २०६५ मा स्थापना भएको एनसीएचएल एक पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू र फाइनान्स कम्पनीहरूको शेयर स्वामित्व रहेको छ ।
FACEBOOK COMMENTS