काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ ।
नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो ।
अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना समेत दिएको छ । आर्थिक गतिविधीमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवम् बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएको प्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।
‘अर्थतन्त्र शिथिलताबाटै गु्रज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यक्ता छ,’ अध्यक्ष अग्रवालले भने ।
कालो सूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरूलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनर्तालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कर्जाको पुनर्तालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरूमा ठूलो आत्मविश्वास सृजना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धराशयी हुनबाट जोगाउन सकिने चेम्बरको धारणा छ ।
यस्तै, चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले घर जग्गा कर्जामा हाल कायम १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झारिनुपर्नेमा जोड दिए ।
चेम्बर केन्द्रीय समितिका सदस्यहरूसँग उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि बनेको भन्दै उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
‘सरकारप्रति आशा र भरोसा गर्नुहोस, तत्काल गर्न सकिने काम यो वर्ष र बाकी विषयहरू बजेटमै सम्वोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्वोधन गर्छौं,’ अर्थमन्त्री पौडेलले भने ।
पढ्नुहोस् ४० बुँदे सुझाव– chamber-of-commerce1
यी समाचारहरू पनि पढ्नुहोस्–
निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह– तोकिएको समय र लागतभित्र गुणस्तरीय काम गर्नुस्
निजी क्षेत्रको मनोबल बढाउन सीएनआईको आग्रहमा अर्थमन्त्रीले भने– आशाको दियो बाल्नेछु
FACEBOOK COMMENTS