काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९औं वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा तथा पुनर्बीमा कम्पनीहरूका कर्मचारीहरूको सहभागिता रहनेछ।
“हरेक जोखिमको रक्षा गर्दै, हरेक लक्ष्यको उत्सव मनाउँदै” भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
यस प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाहरूबाट उत्साहजनक सहभागिता रहेको थियो। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने कम्पनीले अपेक्षा गरेको छ।