काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज’ स्थापना गरिएको छ।
सामाजिक सेवामूलक गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। साथै व्यापार, कृषि, उद्योग र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउनेछ।
प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष, निर्वाचित उपाध्यक्ष साथै सञ्चालक सदस्यहरूको उपस्थिति थियो। निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको कार्यालयको उद्घाटन जापानी दूतावासका मिशन उपप्रमुख तमुरा ताकाहिरोले गरेका थिए ।
यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिनेछ र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिनेछ । सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार रूपैयाँ शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन् । तर, सदस्यता हस्तान्तरण भने गरिने छैन ।
संस्थाले समाज कल्याण ऐन, २०४९ तथा कम्पनी ऐन, २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनु परेमा समाज कल्याण परिषद्को पूर्वस्वीकृति लिनेछ।

यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको छ। चेम्बरको कोष सदस्यता शुल्क, अनुदान तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ। कुनै संशोधन आवश्यक परेमा साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिनेछ।
