काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.५६ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २,५४४.५९ विन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम बढेको छ । यस दिन तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ४९ कम्पनीको सेयरमूल्य बढ्दा १९८ को घटेको छ । सात कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज भूगोल इनर्जी र सागर डिस्टिलरीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । भूगोल इनर्जीको सेयरमूल्य प्रति कित्ता ५२२ रुपैयाँ १० पैसा कायम भएको छ । सागर डिस्टिलरीको सेयरमूल्य प्रतिकित्ता ५१६ रुपैयाँ २० पैसा कायम भएको छ ।
बन्दीपुर केबलकार एन्ड टुरिजम र बुंगल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । हिजोसम्म ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको दरमखोला हाइड्रो इन्जिनियरिङको सेयरमूल्य आज ८.७२ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ४० करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीले आज सेयरधनीलाई ४२ प्रतिशत लाभांश र १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर खरिदबिक्री गर्नेहरूको चाप बढेको हो ।

कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक सबैको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ ।

FACEBOOK COMMENTS