काठमाडौं । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति को १३औँ बैठकबाट भएका नेपाल र भारतबीचको सीमापार विद्युत् प्रसारण क्षमता उल्लेखनीय रूपमा विस्तार गर्ने निर्णयलाई नेपाल–भारत उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
ढल्केबार–मुजफ्फरपुर तथा ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट बढाई १,६५० मेगावाट पुर्याउने तथा आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पुर्याउने सहमतिले नेपालबाट थप ५५० मेगावाट विद्युत् निर्यातको मार्ग प्रशस्त गरेको छ । यो निर्णय नेपाल–भारतबीचको रणनीतिक साझेदारी तथा ऊर्जा सहकार्यमा अर्को महत्वपूर्ण उपलब्धि हो ।
संघले इनरुवा–पूर्णिया, दोधोधरा–बरेली, मोतिहारी–निजगढ, चमेलिया–जौलजीबी तथा नयाँ बुटवल–गोरखपुर लगायतका रणनीतिक सीमापार प्रसारण पूर्वाधार आयोजनाहरूमा भएको प्रगति नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रमा विकसित भएको आपसी विश्वास, समझदारी र सहकार्यको प्रतिफल रहेको र यसले दिगो आर्थिक विकास, क्षेत्रीय ऊर्जा सुरक्षा तथा सीमापार विद्युत् व्यापारमार्फत आर्थिक एकीकरणलाई थप सुदृढ बनाउने दुवै देशको साझा प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । यो प्रगति यस्ता आयोजनाले नेपाल–भारतबीचको दीर्घकालीन ऊर्जा साझेदारीलाई अझ सुदृढ बनाउनुका साथै दक्षिण एशियामा सुदृढ क्षेत्रीय विद्युत् बजारको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेमा संघ विश्वस्त छ ।
नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीचको निरन्तर सहकार्य तथा संयुक्त लगानीमार्फत अघि बढाइएका प्रसारण परियोजनाहरूको कार्यान्वयनलाई पनि संघ स्वागत गर्दछ । यस्ता संस्थागत साझेदारीहरूले भविष्यमा नेपाल–भारत ऊर्जा सहकार्यलाई अझ व्यापक र प्रभावकारी बनाउने बलियो आधार तयार गर्ने विश्वास संघले लिएको छ ।
सरकार–सरकारबीचको सहकार्यको अलावा नेपाल र भारतका सरकार, सार्वजनिक संस्थान तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा संघको विश्वास छ । सरकार–सार्वजनिक संस्थान, सरकार–निजी क्षेत्र, सार्वजनिक संस्थान–सार्वजनिक संस्थान तथा निजी क्षेत्र–निजी क्षेत्रबीचको साझेदारीले ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार विकास तथा सीमापार विद्युत् व्यापारका क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र दीर्घकालीन सहकार्यलाई थप गति प्रदान गर्नेछ ।
नेपालसँग अपार जलविद्युत् सम्भावना रहेको छ भने भारतको तीव्र गतिमा विस्तार भइरहेको अर्थतन्त्र स्वच्छ तथा नवीकरणीय ऊर्जाको ठूलो र दीर्घकालीन बजारका रूपमा रहेको छ । हालका निर्णय तथा प्रगतिहरूले दुवै देशका अर्थतन्त्रबीचको परिपूरक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालमा जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार तथा ऊर्जा–आधारित उद्योगहरूमा दीर्घकालीन लगानीका लागि थप विश्वास सिर्जना गरेको संघको धारणा छ ।
साथै, नेपालको बढ्दो विद्युत् उत्पादनको अधिकतम उपयोग देशभित्रै गर्दै तीव्र औद्योगिकीकरण तथा आर्थिक रूपान्तरणलाई अघि बढाउनुपर्ने आवश्यकता रहेकोमा संघ जोड दिन्छ ।
भरपर्दो तथा किफायती स्वच्छ ऊर्जाको उपलब्धताले उत्पादनमूलक उद्योग, डाटा सेन्टर, डिजिटल पूर्वाधार, सूचना प्रविधिमा आधारित सेवा, विद्युतीय सवारीसाधन तथा रेलवे लगायत अन्य मध्यम तथा लामो दुरीका नविनतम यातायात पूर्वाधार, हरित हाइड्रोजन तथा अन्य उदीयमान क्षेत्रहरूको विकासलाई गति दिन सक्नेछ । यसले विश्वव्यापी जलवायु तथा दिगोपनासम्बन्धी प्रयासहरूमा समेत योगदान पुर्याउनेछ । विद्युतको आन्तरिक खपत विस्तार र सीमापार विद्युत् निर्यात परस्पर पूरक उद्देश्य हुन् जसले नेपालको जलविद्युत् स्रोतको अधिकतम आर्थिक उपयोग सुनिश्चित गर्नेछ भन्ने संघको विश्वास छ ।
यसै सन्दर्भमा संघले भारतका सार्वजनिक तथा निजी क्षेत्रका अग्रणी कम्पनीहरू, संस्थागत लगानीकर्ता तथा ऊर्जा विकासकर्ताहरूलाई नेपालको जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार तथा ऊर्जा–आधारित उद्योगहरूमा थप लगानी विस्तार गर्न आग्रह गर्दछ । यस्ता लगानीहरूले नेपालको औद्योगिक विकासलाई गति दिनुका साथै सीमापार विद्युत् व्यापारको विस्तारमा समेत योगदान पुर्याई नेपाल–भारत आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास संघले व्यक्त गरेको छ ।
लगानीमैत्री, स्थिर तथा पूर्वानुमानयोग्य नीतिगत वातावरणले नेपालको ऊर्जा क्षेत्रमा भारतीय लगानीलाई अझ प्रोत्साहन गर्नेछ र नेपाल–भारतबीचको दीर्घकालीन ऊर्जा सहकार्यको साझा लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने संघको विश्वास छ । त्यसैगरी, निरन्तर नीतिगत समन्वय, सीमापार प्रसारण पूर्वाधारको समयमै निर्माण तथा दुवै सरकारबीचको प्रभावकारी सहकार्यले आगामी दशकमा भारततर्फ नेपालको विद्युत् निर्यात उल्लेखनीय रूपमा वृद्धि गर्ने साझा लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस्तो सहकार्यले क्षेत्रीय ऊर्जा सुरक्षा, आर्थिक समृद्धि तथा दिगो विकासलाई प्रवद्र्धन गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउनेमा संघ विश्वस्त छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत आर्थिक सहकार्यलाई अझ मजबुत बनाउने सबै प्रयासप्रति आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै जलविद्युत् विकास, प्रसारण पूर्वाधार, नवीकरणीय ऊर्जा प्रविधि तथा सम्बन्धित क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिता अभिवृद्धि गर्न आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पुन: दोहोर्याएको छ ।