काठमाडौं । काठमाडौंका ८ र पोखराका ६ सहित १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुन: सञ्चालनमा आएका हुन् ।
मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशनलगत्तै निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पम्पहरूमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा पम्पले तेल नभएको भन्दै वितरणनै ठप्प पारेको थियो । ति १४ वटा पम्पमा निगमले तत्कालका लागि तालाबन्दी गरेको थियो।
पम्प सञ्चालकहरूले आफ्नो पम्पमा तेलनै नभएको जानकारी गराएपछि निगमले जाँच गरेको र तेल नभेटिएको पाइएपछि पुन: इन्धन उपलब्ध गराएसँगै बन्द गरिएका सबै पम्पहरूमा लगाइएको ताला खोलिएको हो । नेपाल आयल निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन र सबै पेट्रोल पम्पहरूबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।