काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ बर्ष मुनिका ३५ हजार भन्दा बढीलाई पार्टी सदस्यता दिएको विषयमा स्पष्टीकरण दिएको छ । महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै हाल १ लाख ३३ हजार ३५३ सदस्यता आवेदनको नागरिकता प्रमाणीकरण अझै बाँकी रहेको बताउदै १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्यता बनाएको विषयमा भएका टिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । उनले नागरिकता प्रमाणीकरण गर्दा कानुनविपरीत भेटिए सदस्यता तत्काल खारेज गरिने बताएका छन् ।
रास्वपाले प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा समावेश तथ्यांक प्रमाणित सदस्यहरूको आधिकारिक अभिलेख नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक सदस्यता आवेदनको विश्लेषण मात्र रहेको जनाएको छ । पार्टीका अनुसार डिजिटल प्रणालीमा हाल ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन् । तीमध्ये ३ लाख ९० हजार ११२ जनाको नागरिकता तथा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भइसकेको छ भने १ लाख ३३ हजार ३५३ आवेदन अझै प्रमाणीकरण प्रक्रियामै छन् ।
रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन र पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै १८ वर्षमुनिका व्यक्तिलाई सदस्य बनाउने नीति वा अभ्यास पार्टीको नरहेको दाबी गरेको छ । पार्टीका अनुसार सदस्यता आवेदनका क्रममा आवेदकले आफैं विवरण प्रविष्ट गर्ने भएकाले वि.सं. र ई.सं. पात्रो छनोटमा भएको त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति राखिएका कारण केही आवेदकको उमेर प्रणालीमा वास्तविकभन्दा कम देखिएको प्रारम्भिक समीक्षाबाट खुलेको बताएको छ ।
रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको जनाउँदै अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीले स्वतः रोक्ने व्यवस्था लागू गरिने बताएको छ । साथै, प्रमाणीकरण भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरी १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए तत्काल खारेज गरिने जनाएको छ । पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवन महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा मुनिका बालबालिका ३५ हजार २५७ जनालाई सदस्यता वितरण गरेको उल्लेख गरेका थिए । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ मा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने व्यवस्था छ । यस विषयमा रास्वपालाई राष्ट्रिय मानव अधिकार आयोगले सामेत स्पष्टीकरण सोधेको छ ।

२- त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ । शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् । सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो । आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन् ।
३- कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने बताएको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको बताएको हो । मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ ।
भारतसँग जिटूजि मार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ । त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । ओमनमा लोडिगको प्रक्रियामा रहेकोे ३० हजार मेट्रिक टन यूरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिने छ । त्यसैगरी ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई भिसाखापटनम पोर्टमा पुगी सकेको र असार १९ देखि २० गते सम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ । साथसाथै ३० हजार मेट्रिक टन यूरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्ने छ ।
त्यसैगरी कतारबाट ३० हजार मेट्रिक टन यूरिया मल सिपमेन्ट भइसकेको र असार अन्तिम सातामा कलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साउदी अरेवियाबाट ३० हजार मेट्रिक टन यूरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने कृषि कम्पनीले जनाएको छ । त्यसैगरी, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल लोड भई असार अन्तिम सातासम्ममा कलकत्ता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिने छ । मन्त्रालयले मध्यपूर्वमा जारी द्वान्दका कारणले अन्तराष्ट्रिय बजारमा मलको उपलब्धता घटेपनि किसानलाई राहत हुने गरी मल आपूर्ति गरिरहेको र विगतका वर्षहरूको तुलनामा यस वर्ष मन्त्रालयले हालसम्मकै सबैभन्दा बढी रासायनिक मल आयात गर्ने लक्ष्य राखेको बताएको छ ।
चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य रहेको जनाएको छ । यसका साथै मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणालीमा सम्बन्धित विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नु पर्ने मन्त्रालयले निर्देशन दिएको छ । साथै रासायनिक मलको स्थानीय तहमा कालोबजारी वा अनियमितता भएको पाइएमा उजुरी गर्न मन्त्रालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको जनाएको छ ।
४- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले देशभर २१ विमानस्थल बन्द रहेको जानकारी दिएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान गर्न समस्या भएको बताउदै हाल २१ विमानस्थल बन्द अवस्थामा रहेको जानकारी दिएका हुन् । मन्त्री पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलहरूबाट उडान सञ्चालन हुन नसक्नुको मुख्य कारण यात्रु संख्याकै अभाव देखिने गरेको बताए ।
उनले देशमा जम्मा ५५ वटा विमानस्थलहरू रहेकोमा ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य अवस्थामा र २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेको बताए । उनले नागरिक उड्ययन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको कुनै कमी नरहेको तर उडान नै नभएको ठाउँमा जनशक्ति राख्नुभन्दा हाल उडान भइरहेका अन्य विमानस्थलहरूमा परिचालन गरिएको बताए ।
५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित पहिलो केन्द्रीय समिति बैठकले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् । उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए ।
त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्व न्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनित गरिएको महामन्त्री आचार्यले जानकारी दिए । विधानको व्यवस्था अनुसार बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले आजको बैठकमा कुनै छलफल नभएको उनले बताए ।
६- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएपछि काठमाडौँमा निजी पेट्रोल पम्प बन्द देखिएका छन् । बुधबार निजी पम्पले इन्धन वितरण गरेका छैनन् भने नेपाली सेना, प्रहरी र सशस्त्रका पम्पमा ठुलो लाइन देखिएको छ । ठूलो कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले भने इन्धन बिक्री बन्द गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनको लामो लाइन देखिएको छ । त्यस्तै काठमाडौँ बाहिरका अधिकांश स्थानमा पनि निजी पेट्रोल पम्प बन्द गरिएको जानकारी प्राप्त भएको छ ।
निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल-मट्टितेल, खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य घटाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ । मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १०३० रुपैयाँ तथा पूरा सिलिन्डरको मूल्य २०६० रुपैयाँ निर्धारण गरिएको छ ।
७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको खानेपानी योजनामा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राई तथा शिरिस कन्स्ट्रक्सनविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चम्पादेवी गाउँपालिका–१ र २ मा सञ्चालन भएको वृहत् पलापु लिफ्ट खानेपानी योजनाका लागि दुई करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत शिरिस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो भने कम्पनीले १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन जमानत पनि पेश गरेको थियो ।
अनुसन्धानका क्रममा निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेपछि गाउँ कार्यपालिकाले कम्पनीलाई कालोसूचीमा राखी ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको देखिएको आयोगले जनाएको छ । तर उक्त निर्णय कार्यान्वयन नगरी तथा कार्यसम्पादन जमानत जफत गर्ने कानुनी व्यवस्था पालना नगरी जानाजान बैंक जमानतको म्याद सकिन दिइएको आरोप लगाइएको छ । आयोगका अनुसार कार्यसम्पादन जमानतको म्याद सकिएपछि मात्रै निर्माण कम्पनीलाई ठेक्का अन्त्य भएको जानकारी गराइएको थियो।
त्यसपछि पनि बैंक जमानतबापतको रकम माग गर्न ढिलो गरी पत्राचार गरिएको कारण सरकारी कोषमा जम्मा हुनुपर्ने १८ लाख ५० हजार रुपैयाँ असुल हुन नसकी सार्वजनिक सम्पत्तिमा हानि पुगेको निष्कर्ष निकालिएको छ । अनुसन्धानबाट तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदी र निर्माण कम्पनीका सञ्चालक राईबीच आपसी मिलेमतो रहेको तथा सार्वजनिक संस्थालाई हानि र आफूलाई लाभ पुग्ने उद्देश्यले गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन नगरेको पुष्टि भएको आयोगको दाबी छ । उक्त कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानि–नोक्सानी भएको भन्दै आयोगले दुवै प्रतिवादी र निर्माण कम्पनीविरुद्ध प्रचलित भ्रष्टाचारसम्बन्धी कानुनअनुसार सजाय र बिगो असुलउपरको मागसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
८- ललितपुरको झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि २ लाख ५० हजार जरिवाना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ । अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, पुन प्रयोगको लागि राखिएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
९- नेप्से आज बढेको छ । आज बुधबार नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३६२ कम्पनिका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।
१०- परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू-भागमा आएको विषयमा स्पष्टीकरण दिएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको स्पष्टीकरण दिएका हुन् । मन्त्री खनालले भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसायले हेलिकप्टर नेपाली भूमीमा नल्याएको पाइएको बताए । उनले भने- ‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भू-भाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ ।’
११- भेनेजुएलामा गएको विनाशकारी भूकम्पको ६ दिनपछि भग्नावशेषबाट तीन वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ । उद्धारसँगै भूकम्प प्रभावित क्षेत्रमा अझै जीवित व्यक्तिहरू फेला पार्न सकिने आशा बढेको छ । जोर्डनको उद्धार टोलीले तीन वर्षीय क्लाइबर मोरानलाई ला ग्वाइरा राज्यको भत्किएको भवनबाट जीवितै बाहिर निकालेको जनाएको छ । अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बालकको उद्धारलाई ‘देशका लागि आशाको किरण’ भएको बताएकी छन् । उद्धारपछि बालकलाई प्राथमिक उपचार गरी अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । उनी राजधानी काराकासस्थित अस्पतालमा उपचाररत छन् ।
गत साता ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि भेनेजुएलामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ भने १० हजारभन्दा बढी घाइते भएका छन् । अझै पनि हजारौं मानिस सम्पर्कविहीन रहेका छन् । प्रारम्भिक उपग्रह विश्लेषणअनुसार करिब ५८ हजार ८७० भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको अनुमान गरिएको छ । भूकम्पपछि पहिलो ७२ घण्टालाई भग्नावशेषमा पुरिएकालाई जीवित उद्धार गर्ने सबैभन्दा महत्वपूर्ण समय मानिन्छ । त्यसपछि ६ दिन बित्दा पनि बालक जीवित भेटिनुलाई उद्धारकर्मीहरूले असाधारण सफलता मानेका छन् । सबैभन्दा बढी प्रभावित ला ग्वाइरा क्षेत्रमा स्थानीय बासिन्दाले आफ्नै प्रयासमा उद्धार कार्य जारी राखेका छन् । तर त्यहाँ खाद्यान्नको अभाव, खानेपानी, स्वास्थ्य सेवा र सञ्चार प्रणाली लगभग ठप्प भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार राहत सामग्रीको पहुँच सीमित हुँदा प्रभावित समुदायमा तनाव बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघले आगामी ६ महिनासम्म ३० हजार भूकम्प प्रभावितलाई अस्थायी आवास, राहत सामग्री र संरक्षण सेवा उपलब्ध गराउन प्रारम्भिक रूपमा एक करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य सेवा अत्यधिक दबाबमा रहेको जनाएको छ। कम खोप कवरेजका कारण दादुरा र डिप्थेरियाजस्ता रोग फैलिने जोखिम बढेको संगठनको चेतावनी छ ।
भेनेजुएलाका नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले क्लाइबरको उद्धारले अझै पनि जीवित व्यक्तिहरू भेटिने आशा कायम रहेको बताएका छन् । उनका अनुसार स्वदेशी तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले अझै भग्नावशेषमा खोजी जारी राखेका छन् भने प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ । अमेरिका, मेक्सिकोसहित दर्जनौं देशका उद्धार टोलीहरू तालिमप्राप्त कुकुर र भारी उपकरणसहित खोज तथा उद्धारमा खटिएका छन् ।
१२- परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातुको उत्खनन गर्न कसैसँग सम्झौता नगरेको स्पष्ट गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेका हुन् । उनले भने- ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धि कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन ।
यस सम्बन्धि केहि डिजिटल मिडियामा गरिएको दाबि नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन् ।’ मन्त्री खनालले नेपालको संबिधानको धारा २७९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पन्चशीलको सिद्धान्तको प्रतिकुल हुने गरि कुनै पनि सम्झौताहरु नगर्ने विषय समेत स्पष्ट गरेका छन् ।
१३- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।
मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष २०८३/८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ । पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सोसमेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ । यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिकासमेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ । मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ ।
१४- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा फरेन्सिक विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउदै फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका हुन् ।
उनले विगतको शैक्षिक अवस्थाको आधारमा नभई वर्तमान आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर विधेयकमा योग्यता निर्धारण गर्नुपर्ने बताए । मन्त्री पुनले फरेन्सिकसम्बन्धी तालिमका हकमा पनि सामान्य तालिमलाई मात्र आधार नबनाई मान्यता प्राप्त विश्वविद्यालय वा प्रमाणित संस्थाबाट प्राप्त तालिमलाई मात्रै मान्यता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, उनले विधेयकमा रासायनिक, भौतिक तथा जैविक प्रमाणसँगै विद्युतीय (डिजिटल) प्रमाणलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने बताउदै अपराध अनुसन्धानमा डिजिटल प्रमाणको महत्व निरन्तर बढ्दै र त्यसको कानुनी व्यवस्था पनि स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।
१५- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर २६५ डलरले घटाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको निगमले जनाएको छ । यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १९७, डिजल- मट्टीतेल प्रतिलिटर १९५ पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०३० र पुरा सिलिन्डरको २०६० पर्ने निगमले जानकारी दिएको छ ।
१६- काठमाडौँस्थित जर्मन दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका केही समाचार भ्रामक र तथ्यहीन रहेको जनाएको छ । दूतावासले आफ्नो धारणा सार्वजनिक गर्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय परराष्ट्र मन्त्रालयले छलफलका लागि आमन्त्रण गरेको तर स्पष्टीकरण नमागिएको स्पष्ट गरेको छ । साथै दुताबासले कूटनीतिक अभ्यासमा यी दुई विषयबीच स्पष्ट भिन्नता हुने उल्लेख गरेको छ । त्यस्तै, भेटका क्रममा कुनै पनि प्रकारको विरोधपत्र वा अन्य आधिकारिक कागजात हस्तान्तरण नगरिएको दूतावासले स्पष्ट पारेको छ ।
यसैगरी, राहदानी खरिदसम्बन्धी मुद्दाको परिणामका आधारमा कुनै सम्भावित कारबाही वा अन्य परिणामबारे नेपाललाई कुनै चेतावनी नदिइएको पनि दूतावासले जनाएको छ । जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने र यो सिद्धान्त आफ्नो संविधानमै सुनिश्चित गरिएको दूतावासले उल्लेख गरेको छ । साथै, अदालतमा विचाराधीन मुद्दाका विषयमा दूतावासले कुनै टिप्पणी नगर्ने आफ्नो स्थापित नीति रहेको र यस प्रकरणमा पनि त्यही नीति पालना गरिएको स्पष्ट पारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई प्रकरणमा अनियमितता भएको भन्दै दुई जर्मन कम्पनीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राहदानी विभागले दुई जर्मन कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबाउर राहदानी छपाईको ठेक्का दिएको थियो ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७७ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४२७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४२७० मा कारोबार भएको थियो ।
१८- अष्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ । पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै अष्ट्रेलियासामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अष्ट्रेलियाले दुई विकेट मात्र गुमाएर १३ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो । अष्ट्रेलियाको जितमा ओपनर बेथ मुनीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ३६ बलमा अविजित ६१ रन बनाउँदै टोलीलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिइन् ।
वेस्ट इन्डिजका लागि हेली म्याथ्युज र चिनेले हेनरीले समान एक-एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यो जितसँगै अष्ट्रेलियाले आगामी आइतबार, जुलाई ५ मा हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल इङल्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । महिला टी–२० विश्वकपमा हालसम्म सर्वाधिक सफल टोली अष्ट्रेलियाको लक्ष्य अब कीर्तिमानी सातौँ उपाधि जित्ने रहेको छ ।
१९- इक्वेडरलाई २-० गोल अन्तरले पराजित गर्दै मेक्सिको जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । अब मेक्सिकोले इङ्ग्ल्यान्ड र कंगो लोकतान्त्रिक गणतन्त्रबीचको विजेतासँग खेल्ने छ । घरेलु समर्थकहरूको उत्साहजनक साथ पाएको मेक्सिकोले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । खेलको पहिलो गोल खेलको २२औं मिनेटमा जुलियन किनोनेसले तीव्र प्रतिआक्रमणका क्रममा गरेका थिए । त्यसको नौ मिनेटपछि खेलको ३१औं मिनेटमा राउल हिमेनेजले सशक्त प्रहारमार्फत दोस्रो गोल थप्दै मेक्सिकोलाई बलियो अवस्थामा पुर्याएका थिए । दोस्रो हाफमा मेक्सिकोले रक्षात्मक रणनीति अपनाउँदै इक्वेडरको लगातार दबाब सामना गर्यो ।
विपक्षी टोलीले गोल फर्काउने प्रयास गरे पनि मेक्सिकन रक्षापङ्क्ति र गोलरक्षकले कुनै अवसर सफल हुन दिएनन् । यो जितसँगै मेक्सिकोले विश्वकपको नकआउट चरणमा लगातार नौ प्रयासपछि पहिलो जित दर्ता गरेको छ । अब टोलीले क्वार्टरफाइनल प्रवेशका लागि इङ्ग्ल्यान्ड र कंगो लोकतान्त्रिक गणतन्त्रबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । स्तै फ्रान्सले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ । यस खेलमा दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एम्बाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले नकआउट चरणमा आफ्नो कुल गोल संख्या १० पुर्याउँदै नयाँ कीर्तिमान कायम गरेका छन् । साथै, जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ ।
यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् । साथै विश्वकपमा एम्बाप्पेले कुल १८ गोल गरेका छन् । धेरै गोल गर्ने सूचीमा मेसी १९ गोल गर्दै शिर्ष स्थानमा रहेका छन् । न्यु जर्सीको अत्यधिक गर्मीबीच भएको खेलमा फ्रान्सले सुरुदेखि नै स्विडेनमाथि दबाब बनाएको थियो । खेलको २०औँ मिनेटमा एम्बाप्पेको गोल अफसाइडका कारण मान्यता पाएन । त्यसको केहीबेरपछि जुल्स कुन्देको पासमा उनले प्रहार गरेको बल पोस्टमा लागेको थियो । त्यसपछि माइकल ओलिसेको आकर्षक प्रहार पनि पोस्टमा लाग्दा ओस्मान डेम्बेलेले रिबाउन्डमा गरेको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो । स्विडेनका गोलरक्षक याकोब विडेल जेटरस्ट्रोमले लगातार उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई लामो समयसम्म गोल गर्न दिएनन् । तर पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेको उत्कृष्ट पासमा एम्बाप्पेले रक्षकलाई छलाउँदै सशक्त प्रहारमार्फत फ्रान्सलाई अग्रता दिलाए ।
दोस्रो हाफ सुरु भएको आठौँ मिनेटमा माइकल ओलिसेको पासमा ब्राड्ली बार्कोलाले नजिकको पोस्टबाट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको ७४औँ मिनेटमा फेरि ओलिसेकै पासमा एम्बाप्पेले सुन्दर घुमाउरो प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । स्विडेनले खेलको अन्त्यतिर केही अवसर सिर्जना गरे पनि फ्रान्सका गोलरक्षक माइक मेनियाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाएका थिए । यसअघि सोमबार भएको खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको पाराग्वे अब फ्रान्सको अन्तिम १६ को प्रतिद्वन्द्वी बनेको छ ।
२०- नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । गएराती डालसमा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेलाई जित दिलाउन इर्लिङ हालान्डले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । प्याट्रिक बर्गको कटब्याक पासलाई उनले नजिकैबाट जाली चुमाउँदै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।
यससँगै हालान्डले नर्वेका लागि लगातार १३ अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा गोल गर्ने कीर्तिमानलाई निरन्तरता दिएका छन् । साथै, विश्वकपको नकआउट चरणमा नर्वेको इतिहासकै पहिलो जित दिलाउने खेलाडीसमेत बनेका छन् । पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि नर्वेले ३९औँ मिनेटमा अग्रता लिएको थियो । २१ वर्षीय विङ्गर एन्टोनियो नुसाले बायाँतर्फबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि गरेको आकर्षक घुमाउरो प्रहार सिधै जालीको माथिल्लो कुनामा पुगेको थियो । पछि बराबरीको खोजीमा रहेको आइभरी कोस्टका प्रशिक्षक एमेर्स फाएले दोस्रो हाफमा अमाद डियालोलाई मैदान प्रवेश गराए ।
सुरुदेखि रक्षात्मक रणनीतिका साथ टोली उतारेका उनले अमादलाई बेन्चमा राख्ने निर्णय महँगो सावित भयो । अमादले मैदान छिरेपछि आइभरी कोस्टको आक्रमणमा नयाँ ऊर्जा थपे । खेलको ७४औँ मिनेटमा दायाँतर्फबाट दुई रक्षकलाई छलाउँदै उनले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । यो जारी प्रतियोगितामा उनको दोस्रो गोल थियो । त्यसभन्दा केही मिनेटअघि उनले रक्षात्मक भूमिकामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। नर्वेका टोर्ब्योर्न हेग्गेमले नजिकैबाट गरेको प्रहार गोलरेखामै पुगेर अमादले रोक्दा आइभरी कोस्ट तत्काल दोस्रो गोल खानबाट जोगिएको थियो । तर खेल अन्त्यतिर नर्वेले निर्णायक प्रहार गर्यो । बर्गको पासमा सही स्थानमा रहेका हालान्डले अवसरको सदुपयोग गर्दै विजयी गोल गरे र नर्वेलाई अन्तिम १६ मा पुर्याए । अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलको सामना गर्नेछ ।