काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत पाउन असफल भएका छन् ।
२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्क्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले चौथो पटकसम्म विश्वासको मत पाउन सफल भए पनि आज पाँचौं पटक असफल भएका हुन् ।
नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै सत्तारुढ दलहरू नेकपा एमाले र जसपाले सरकारलाई दिएको समथैन फिर्ता लिएपछि आज प्रचण्डले पाँचौंपटक विश्वासको मत माग गरेका थिए ।
संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत माग गरेका प्रचण्डले ६३ मात्रै पाए भने उनको प्रस्तावको विपक्षमा १९४ मत खस्यो । संविधानअनुसार हालको प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य छन् । आज प्रतिनिधि सभामा २५८ जना सांसद उपस्थित थिए । १ मत तटस्थ रह्यो ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस र एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताएका छन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।
FACEBOOK COMMENTS