काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जनयुद्ध चलाएर अकुत सम्पत्ति आर्जन गरेको र त्यो पैसा नेपालबाहिर लगेको आरोप लागेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । आफू लामो समय प्रचण्डसँग नजिक रहेर काम गरेको हवला दिँदै प्रसाईंले ‘१७ हजार ५०० को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो’ भनेर प्रश्न समेत गरेका छन् ।
पछिल्लो समय राजसंस्था फर्काउने आन्दोलनमा सक्रिय बनेका प्रसाईंले गणतन्त्रवादी नेताहरूप्रति तीव्र आलोचना र अनेक लाञ्छना लगाउन थालेका छन् । यसै सन्दर्भमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् ।
खासगरी पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नेताहरूले कडा अभिव्यक्ति दिएकोमा आक्रोश व्यक्त गर्दै उनले विभिन्न सञ्चार माध्यमहरूमार्फत भनेका छन्, ‘अहिले केपी ओलीलाई भन्दा प्रचण्डलाई सनक चढेको छ । म भन्छु तपाइँ नसन्किँदा हुन्छ । म तपाइँसँग नजिक रहेर काम गरेको मान्छे हुँ । १७ हजार ५०० को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो ? पचासौँ हजार मान्छे आज पनि घाइते अवस्थामा छन् । उनीहरूको हिसाबकिताब कसले गर्ने ?’
यस्तै, उनले जनयुद्धका नाममा बम पड्काएर खरबौँको नेपाली सम्पत्ति खरानी बनाएको तथा जनयुद्धका नाममा नेपालदेखि विदेशसम्म व्यक्तिगत सम्पत्ति जोडेको आरोप पनि लगाएका छन् । ‘खरबौँको सम्पत्ति बम हानेर उडाउनुभयो त्यतिखेर । तपाइँको छोराले दुबईमा लगेको २६ करोड रुपैयाँको हिसाबकिताब कसले दिने ? तपाइँले स्वीट्जरल्याण्ड र अमेरिकामा घर किन्नुभएको छ त्यो कुन पैसाले किन्नुभयो ?,’ उनले प्रश्न गरेका छन् । अहिले प्रचण्डले भोगचलन गरिरहेको सम्पत्ति र तडकभडक युद्धकालमा जोडेको सम्पत्तिको आड भएको प्रसाईंको भनाइ छ ।

प्रचण्डको जीवशैलीबारे प्रश्न उठाउँदै उनले भनेका छन्, ‘हिजो साधारण विवाह गर्दा भाटे कारबाही गर्ने तपाइँले आफ्नी नातिनीहरूको विवाह फाइभ–स्टार होटेलमा कहाँको पैसाले गर्नुभयो ? अरुलाई रक्सी खायो भनेर भाटे कारबाही गर्ने तपाइँको घरमा अहिले एक करोड पर्ने रक्सी कहाँबाट आयो ?’

प्रसाईंले दरबार हत्याकाण्डको विषयमा पनि धेरै नबोलन चेतावनी दिएका छन् । पहिला आफ्नो छोराको हत्यारा पत्ता लगाएर मात्रै दरबार हत्याकाण्डको विषय उठान गर्न उनले चुनौती दिएका छन् । उनले प्रश्नैप्रश्न तेर्स्याउँदै भनेका छन्, ‘तपाइँले आफ्नो छोराको हत्यारा पत्ता लगाउनुभयो ? तपाइँ त्यतिखेर मैसँग हुनुहुन्थ्यो । दरबार हत्याकाण्डको कुरा निकाल्दै गर्दाखेरि यत्रो १८–२० वर्षसम्म सत्तामा बस्दा कसको भेडाबाख्रा हेर्न जानुभएको थियो ?’

यो पनि पढ्नुहोस्–

‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
गोरखाबाट पूर्वराजाको सन्देश– मेरो सक्रियतादेखि कोही डराउनु पर्दैन
FACEBOOK COMMENTS