काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय र संवादलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशन अघि बढाउनु उचित नभएको बताए ।
उनले पार्टीको लोकतान्त्रिक मूल्य, वैधानिकता र एकतालाई कमजोर पार्ने गरी पद बाँडफाँडलाई समाधानको आधार बनाउन नहुने उल्लेख गरे । ‘नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ उनले भने ।
कोइरालाले विधि र प्रक्रिया मिचेर संस्थापन पक्षले अघि बढाउन लागेको महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै आफुहरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबि गर्दै असोज १५ गतेदेखि वडा हुदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सबै कांग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
