काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको भावी महासचिवमा पत्रकार सुरोजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
हालको कमिटीमा उपमहासचिव रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् । २०५९ सालमा प्रेस चौतारी काठमाडौंको संस्थापक जिल्ला सदस्य हुँदै सङ्गठनको विभिन्न तह र जिम्मेवारीहरूमा रहेर कुशलतापूर्वक काम गर्दै आएका पाण्डेले आफूलाई बलियो र स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।
‘प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरुको भरलाग्दो अब्बल र गतिशील सङ्गठनका रुपमा अगाडि बढाउने दृढ सङ्कल्प र प्रतिवद्धतासहित सङ्गठनको कार्यकारी जिम्मेवारी (महासचिव) को स्वाभाविक दावेदारका रुपमा अगाडि बढ्ने सोच बनाएको छु,’ आफ्नो उम्मेदावरी घोषणा गर्दै उनले शुक्रबार सामाजिक सञ्चालनमा लेखेका छन् ।
प्रेस चौतारी नेपालमा करिब २२ वर्षको ऊर्जाशील समय बिताएका पाण्डे काठमाडौं जिल्लाको संस्थापक सदस्य हुन् । त्यसपछि उनले तत्कालीन उपत्यका अञ्चल (काठमाडौं, भक्तपुर, ललितपुर) को सचिव हुँदै काठमाडौं जिल्ला समितिको सल्लाहकार भएर काम गरे ।
पत्रकार पाण्डे पाल्पा, कीर्तिपुर, हेटौंडा, बुटवल, विराटनगर, कमलादी (काठमाडौं), पोखरा हुँदै तेस्रो महाधिवेशनदेखि १०औँ महाधिवेशनसम्म सातौँ पटकको प्रतिनिधि हुन् । केन्द्रीय सदस्य तथा प्रतिष्ठान अञ्चल इञ्चार्ज, केन्द्रीय कमिटी सचिव हुँदै उपमहासचिवसम्मको विभिन्न तहगत जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका पाण्डेको उम्मेदवारीलाई चौतारी वृत्तमा स्वाभाविक र बलियो मानिएको छ ।
नेतृत्व चयनका सन्दर्भमा आफ्नो सङ्गठनको मातृपार्टी नेकपा एमालेले अघि सार्ने विधि र प्रक्रियालाई आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्व चयनको प्रक्रिया र प्रयास पारर्शी तथा निश्चित मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । ‘निश्चय पनि दुई दशकको अविरल यात्रा सङ्गठनमा बिताएको एक सिपाहीको नाताले पार्टीले अगाडि सारिरहेको सर्वसम्मत नेतृत्व चयनको प्रयासलाई मैले नेतृत्व चयनको प्राथमिक लोकतान्त्रिक विकल्पकै रुपमा आत्मसात गरिरहेको छु । तर यस्तो प्रयास पारदर्शी, एक व्यक्ति : एक मुख्य जिम्मेवारी, व्यक्तिको योगदान, आवश्यकता, योग्यता, क्षमता जस्ता निश्चित मापदण्डमा आधारित हुनुपर्दछ,’ उनले भनेका छन् ।
नेतृत्व चयनको सुरूवाती प्रक्रिया सहमतिको प्रयास आम प्रतिनिधिहरूको भावना र चाहनाविपरीत व्यक्तिगत स्वार्थपूर्तिका लागि होइन पार्टीको हित तथा चौतारीको संस्थागत र स्वस्थ दीर्घ जीवनका लागि अगाडि बढाउनका निम्ति हुनुपर्ने धारणा उनको छ । त्यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्दै महाधिवेशन सफल पार्न उनले सबैमा हार्दिक अपिल समेत गरेका छन् । उनी हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि कोशी प्रदेको राजधानी विराटनगरमा सुरू हुँदैछ । १२ गते सम्पन्न गर्नेगरी तय गरिएको महाधिवेशन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
चौतारीको १०औँ राष्ट्रिय महाधिवेशन र नेतृत्व चयनबारे यस्तो छ, पाण्डेको धारणा–
हामी यतिबेला नेपाली श्रमजीवी पत्रकारहरुको अग्रणी सङ्गठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनको संघारमा छौँ । जिल्ला–जिल्लाबाट साथीहरु महाधिवेशनस्थल विराटनगरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सबै साथीहरुलाई शुभयात्रा र स्वागत ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्व लिइहेको अग्रणी र स्थापित सङ्गठन प्रेस चौतारी नेपालको महाधिवेशनप्रति श्रमजीवी पत्रकारको मात्र होइन, देशकै ध्यानाकर्षण भइरहेको छ । चौतारीले महाधिवेशनबाट लिने नीति र आगामी नेतृत्वबारे विभिन्न कोणबाट चर्चा परिचर्चा चलिरहेको छ । यस पृष्ठभूमिमा पार्टी नेतृत्वको सहि र समयसापेक्ष मार्गनिर्देशसँगै प्रतिनिधि साथीहरुको स्वविवेकीय छलफलबाट मात्र सहि नीति र नेतृत्वको निर्क्यौल हुनेछ भन्ने मान्यता राख्दछु ।
हाम्रा सामु अनिगिन्ती चुनौती छन् । श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, न्यू मिडियाको दबदबासँगै यसको उपयोग र यसले खडा गरेका चुनौतीहरुको उचित व्यवस्थापनसँगै श्रमजीवी पत्रकारको लगानीमा सञ्चालित साना र स्थानीय मिडियाहरुको संरक्षणबाट मात्रै नेपाली पत्रकारिताको दीर्घकालीन हित हुनेछ भन्नेमा हामी स्पष्ट छौँ ।
समयको पदचापसँगै २१औँ शताब्दीअनुकुल नीतिगत र कानुनी प्रश्नको सम्बोधनबाट पत्रकारिता क्षेत्रको समग्र हितको रक्षा र विकास सम्भव छ । पत्रकार आचारसंहिताको परिपालना, पेशागत शुद्धीकरण र अब्बल पत्रकार उत्पादनका लागि लाइसेन्सिङको बहसलगायतका विषयलाई टुङ्गोमा पुर्याउन प्रेस चौतारीले अगुवाका रुपमा भूमिका खेल्न सक्नुपर्छ ।
कर्पोरेट मिडियामार्फत हुने एजेन्डा सेटिङले दलाल पुँजीपति वर्गको साम्राज्य विस्तार र श्रमजीवी वर्गमाथि भइरहेका शोषण, उत्पीडन र सूचनाको हकको पहुँच स्थापित गर्ने सवालसँग जोडिएका चुनौती मात्र होइन, सामाजिक सञ्जालको दुरुपयोगबाट राष्ट्रियता, सामाजिक सद्भाव, सहिष्णुता, सामाजिक मूल्यमान्यता खलबल्याएर अराजकता सृजना गर्ने प्रयासविरुद्ध प्रेस चौतारी नेपालले खेल्ने भूमिकाले नै मुलुकलाई सहि मार्गमा डोर्याउन सक्छ भन्ने तथ्यप्रति म विश्वस्त छु ।
प्रेस चौतारी नेपालमा करिब २२ वर्ष मेरा ऊर्जाशील समयहरु बितेका छन् । ०५९ मा काठमाडौं जिल्लाको संस्थापक सदस्य हुँदै उपत्यका अञ्चल (काठमाडौ, भक्तपुर, ललितपुर) को सचिव, काठमाडौ जिल्ला सल्लाहकार, पाल्पा, कीर्तिपुर, हेटौंडा, बुटवल, विराटनगर, कमलादी, पोखरा हुँदै तेस्रो महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्मको सातौँ पटकको प्रतिनिधि, केन्द्रीय सदस्य तथा प्रतिष्ठान अञ्चल इञ्चार्ज, केन्द्रीय कमिटी सचिव हुँदै उपमहासचिवसम्मको विभिन्न तहगत जिम्मेवारी पूरा गरेर महाधिवेशनको संघारमा उभिइरहँदा चौतारीलाई श्रमजीवी पत्रकारहरुको भरलाग्दो अब्बल र गतिशील सङ्गठनका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिवद्धतासहित सङ्गठनको कार्यकारी जिम्मेवारी (महासचिव) को स्वाभाविक दावेदारका रुपमा अगाडि बढ्ने सोच बनाएको छु ।
निश्चय पनि दुई दशकको अविरल यात्रा सङ्गठनमा बिताएको एक सिपाहीको नाताले पार्टीले अगाडि सारिरहेको सर्वसम्मत नेतृत्व चयनको प्रयासलाई मैले नेतृत्व चयनको प्राथमिक लोकतान्त्रिक विकल्पकै रुपमा आत्मसात गरिरहेको छु । तर, यस्तो प्रयास पारदर्शी, एक व्यक्ति ः एक मुख्य जिम्मेवारी, व्यक्तिको योगदान, आवश्यकता, योग्यता, क्षमता जस्ता निश्चित मापदण्डमा आधारित हुनुपर्दछ भन्ने मान्यता पनि राख्दछु ।
सहमतिको प्रयास आम प्रतिनिधिहरुको भावना र चाहनाविपरीत व्यक्तिगत स्वार्थपूर्तिका लागि होइन, पार्टीको हित तथा चौतारीको संस्थागत र स्वस्थ दीर्घ जीवनका लागि अगाडि बढाउनका निम्ति हुनुपर्दछ । यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्दै महाधिवेशन सफल पार्न सबैमा हार्दिक अपिल गर्दछु ।
यो पनि पढ्नुहोस्–
प्रेस चौतारीमा राजेश र गणेश आमनेसामने बन्दै, सात दिन नपुग्दै किन आयो पाण्डेको राजीनामा ?
FACEBOOK COMMENTS