विराटनगर । नेपाली नागरिकता बनाउन झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भन्दै झुटो विवरण पेश गरेका थिए । सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि उक्त विषय प्रहरीमा पठाएपछि अनुसन्धान सुरु गरिएको हो । यस प्रकरणमा रंगेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनामाथि झुटो विवरणका आधारमा नागरिकता सिफारिस प्रक्रियामा संलग्न रहेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।