काठमाडौं । नेकपा (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को राजीनामा माग गरेको छ ।
संघको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले ‘भारतको सीमा नेपालले मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेको हो ।
‘प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले समेत भारतको विभिन्न ठाउँमा सिमाना मिचेको’ भन्ने भौगोलिक अखण्डतामाथि प्रश्न उठ्ने अभिव्यक्तिप्रति खेद प्रकट गर्दै आत्मालोचना, आमनेपाली जनतासँग माफी तथा राजीनामाको माग गरेको छ,’ अध्यक्ष माहाराज गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैगरी इन्द्रबहादुर राईजस्ता भुइँ मान्छेहरूलाई मर्न बाध्य पार्नेगरी गरिएको अमानवीय व्यवहारको कडा विरोध गर्दै सुकुम्वासीहरूको न्यायोचित, मानवीय र सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।’
वर्तमान सरकारको संसदप्रतिको अपमान, जवाफदेहिताविहीन शासनशैली तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि देखिएको उदासीनताप्रति पनि बैठकले गम्भीर चिन्ता व्यक्त जनाएको छ ।
बैठकले संगठन निर्माणलाई प्राथमिकता दिँदै सबै तहलाई थप सक्रिय, जिम्मेवार र परिणाममुखी ढङ्गले परिचालित हुन निर्देशन दिने निर्णय गरेको छ । आगामी निर्वाचन तथा राजनीतिक अभियानहरूमा राष्ट्रिय युवा संघ नेपाललाई अझ सशक्त, प्रभावशाली र जनमुखी शक्तिका रूपमा स्थापित गर्न विशेष कार्ययोजना निर्माण गर्ने संघको भनाइ छ ।

अर्थ विधेयकमा अनधिकृत हस्तक्षेप गरी करका दर हेरफेर तथा सूचना चुहावटमार्फत ईभी गाडीमा भएको अनियमिततालगायतमा संसदीय छानबिन समिति गठन गर्न पनि संघले माग गरेको छ ।
