काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ मा समृद्ध नेपालको आधार निर्माण गर्ने लक्ष्यसहित विभिन्न पूर्वाधार तथा विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो ।
सडक पूर्वाधार विकास, सिँचाइ सुविधामार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था तथा सांस्कृतिक सम्पदाको संरक्षणलगायतका क्षेत्रमा महत्वपूर्ण मानिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको हो । हाल यस्ता आयोजनाको संख्या बढेर २७ पुगेको छ ।
आर्थिक बर्ष २०८१/८२ को महालेखाको प्रतिवेदन अनुसार राष्ट्रिय योजना आयोगको विवरणअनुसार २७ राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ तथा ६९ करोड ७० लाख पुगेको छ ।
हालसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गरी ३ आयोजना सम्पन्न भएका छन् । यीबाहेक अन्य आयोजनामा हालसम्म ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको उल्लेख छ ।
२७ आयोजनामध्ये ५ आयोजनाले ८० प्रतिशत वा सोभन्दा बढी भौतिक प्रगति हासिल गरेका छन् भने ४ आयोजनाको प्रगति ५० देखि ८० प्रतिशतको बीचमा रहेको छ । त्यस्तै ९ आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । ४ आयोजनाको भौतिक प्रगति खुलाइएको छैन भने २ आयोजना अझै सुरु नै भएका छैनन् ।

आर्थिक वर्ष २०७८/७९ भित्र सम्पन्न गर्नुपर्ने पशुपति क्षेत्र विकास कोषको आयोजनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको छैन । साथै उक्त आयोजना कहिले सम्पन्न हुने भन्ने समयसीमासमेत तोकिएको छैन ।

अधिकांश आयोजनाले कार्यक्षेत्र विस्तार गर्दै जाने, तोकिएको समयमै निर्माण सम्पन्न गर्न नसक्ने र पटक–पटक म्याद थप गर्दै जाने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । सरकारले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न हुने गरी प्रभावकारी आयोजना व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

विवरणअनुसार सबैभन्दा कमजोर प्रगति भएका आयोजनामध्ये पूर्व–पश्चिम रेल तथा मदन भण्डारी राजमार्ग आयोजना प्रमुख छन् । यी आयोजनाको भौतिक प्रगति अझै उल्लेखनीय रूपमा अघि बढ्न सकेको छैन ।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत सुरुङ तथा बाँकी संरचना निर्माणको प्रगति करिब १२ प्रतिशत मात्रै पुगेको देखाइएको छ । त्यस्तै काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ४९ प्रतिशत पुगेको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतका आयोजनामा पनि अपेक्षित गति देखिएको छैन । केही आयोजनाको खर्च बढ्दै गएको भए पनि निर्माण प्रगति भने कमजोर रहेको विवरणमा उल्लेख छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये केहीमा ८० प्रतिशतभन्दा बढी प्रगति भएको देखिए पनि धेरै आयोजना ५० प्रतिशतभन्दा तल छन् । कालीगण्डकी कोरिडोर (गैडाकोट कोरला सडक खण्ड) को ८२.४५ प्रतिशत काम सकिएको उल्लेख छ भने बबई सिचाई योजनाको ८२.२७ प्रतिशत प्रगति रहेको छ । त्यस्तै लुम्बिनी विकास कोषको ८९ प्रतिशत, हुलाकी लोक्मर्ग आयोजना ७२.७५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।
कतिपय आयोजनाको निर्माण अवधि पटक–पटक थपिएको छ भने केही आयोजना अझै सुरु नै हुन सकेका छैनन् । विवरणमा अधिकांश आयोजनामा लागत वृद्धि, ढिलो निर्माण, कमजोर व्यवस्थापन तथा समयमै काम सम्पन्न हुन नसक्ने समस्या दोहोरिएको उल्लेख गरिएको छ ।