काठमाडौं । नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने भएको छ। हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले डोङफेङद्वारा उत्पादित बसहरू नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको हो।
कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको छ। हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ।
उक्त अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ।
डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
नेपालमा पनि डोङफेग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्री हुँदै आएका छन्। हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको फोर्स मोटर्स तथा चीनको एसएआइसी ग्रुप अन्तर्गत रहेको म्याक्सस लागि आधिकारिक विक्रेता हो।