रङ्गशाला निर्माणमा ढिलाइ
कर्पोरट खबर
2:28 pm, शनिबार, असार २३, २०८०
तिलोत्तमा । बुटवल उपमहानगर–१३ स्थित उजारसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राख्दै प्रदेशस्तरीय रङ्गशाला बनाउने उद्देश्यले काम अगाडि बढाएको थियो । प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गरैले बताए ।
बुटवल उपमहानगरले नै निर्माणका लागि तयारी गरेको अवस्थामा प्रदेश सरकारले उक्त योजनालाई आफ्नै अग्रसरतामा अघि बढाउन चासो देखाएको छ । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७९÷८० मा ५ करोड ५० लाख बजेट छुट्याएको थियो । आगामी आव २०८०÷८१ का लागि प्रदेश सरकारले ३ करोड ५० लाख बजेट विनियोजन गरेको प्रवक्ता गैरेले जानकारी दिए।
“जग्गा प्राप्ति नभएका कारण निर्माणमा ढिलाइ भएको छ”, उनले भने। रङ्गशालाको जग्गा प्राप्ति र रुख कटानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर गत वर्ष चैतमा सङ्घीय मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त फाइल वन मन्त्रालयमा थन्किएको छ ।
जग्गा प्राप्तिको काम ढिला भएकाले ठेक्का तथा अन्य निर्माणका काम सुरु गर्न नसकिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । चार बिघा क्षेत्रफलमा बन्ने उजारसिंह रङ्गशाला चारैतर्फ प्यारापिट राखेर झण्डै २० हजार दर्शक अटाउने गरी बनाउन लागिएको हो ।
FACEBOOK COMMENTS