काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
राहत सामग्रीसँगै नेपालमा बाढी तथा पहिरोका कारण मृत्यु भएकाको पहिचान प्रक्रियामा सहयोग गर्न चिनियाँ फरेन्सिक विज्ञको टोली पनि नेपाल आएको छ । चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ नेपाल आएका हुन् ।
उनीहरूले नेपाली निकायसँग समन्वय गरी शवको पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछन् । विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए ।
सो अवसरमा मन्त्री पुनले नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञको स्वागत गरेका थिए । चीनले उपलब्ध गराएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपत्प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री रहेका छन् ।

यसपटकको राहत सामग्रीमा विपत् उद्धार, आवतजावत सहज बनाउन तथा पुन:स्थापनाका लागि आवश्यक बेली ब्रिजसमेत समावेश गरिएको छ । चीनबाट पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकासम्म आइपुगेको जनाइएको छ ।
रसुवामा आएको बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार, खोज तथा पुन:स्थापनाका लागि आवश्यक सामग्रीको अभाव देखिएको छ । यस्तो अवस्थामा चीनबाट प्राप्त राहत सामग्री तथा प्राविधिक सहयोगले तत्कालीन उद्धार र पुन:स्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।