काठमाडौं । सामाजिक सञ्जालमा छोटा भिडियो अर्थात् ‘रील्स’ हेर्ने बढ्दो बानीले मानिसको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाउँदै लैजाने र मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने विभिन्न अध्ययनले देखाएका छन्।
अमेरिकी मनोवैज्ञानिक संघको जर्नलमा प्रकाशित एक अन्तर्राष्ट्रिय संयुक्त अध्ययनका अनुसार छोटा भिडियो अत्यधिक हेर्ने व्यक्तिहरूमा ध्यान केन्द्रित गर्न कठिन हुने, तनाव बढ्ने र चिन्ताको समस्या देखिने सम्भावना बढी रहेको पाइएको छ ।
अध्ययनले छोटा भिडियोको निरन्तर प्रयोगले मस्तिष्कलाई छिटो-छिटो नयाँ सामग्री खोज्ने बानी लगाउने भएकाले लामो समय एउटै काममा ध्यान दिन गाह्रो हुने उल्लेख गरेको छ । यसले पढाइ, काम तथा दैनिक निर्णय क्षमतामा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ ।
विभिन्न सर्वेक्षणअनुसार विश्वभरका करिब ९० देखि ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले कुनै न कुनै सामाजिक सञ्जालमा रील्स वा छोटा भिडियो हेर्ने गरेका छन् । औसतमा मानिसहरूले दैनिक दुईदेखि झण्डै तीन घण्टासम्म यस्ता भिडियो स्क्रोल गर्न खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।
अनुसन्धानका अनुसार किशोर उमेरका प्रयोगकर्तामा यसको प्रभाव अझ बढी देखिएको छ । विशेषगरी करिब १३ वर्ष उमेर समूहका बालबालिका र किशोरहरूमा छोटा भिडियोको अत्यधिक प्रयोगले ध्यान केन्द्रित गर्ने क्षमता, आत्मनियन्त्रण र व्यवहारमा उल्लेखनीय असर पार्न सक्ने अध्ययनले जनाएको छ ।
अध्ययनमा अत्यधिक रील्स हेर्ने व्यक्तिहरूले आफ्नो व्यवहार र इच्छामाथिको नियन्त्रणसमेत कमजोर हुँदै जाने उल्लेख गरिएको छ । कतिपय अवस्थामा मोबाइल फोन केही समयका लागि टाढा राख्दा बेचैनी, असहजता वा चिन्ताको भावना बढ्ने अवस्था पनि देखिएको छ ।
मानसिक स्वास्थ्य विज्ञहरूले सामाजिक सञ्जालको सन्तुलित प्रयोग गर्न, अनावश्यक रूपमा लामो समय छोटा भिडियो नहेर्न र डिजिटल उपकरणबाट नियमित अन्तरालमा विश्राम लिन सुझाव दिएका छन् । उनीहरूका अनुसार डिजिटल सामग्रीको संयमित प्रयोगले मानसिक स्वास्थ्य र एकाग्रता दुवैलाई सुरक्षित राख्न मद्दत पुग्छ ।