काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।
बुधबार मन्त्रिपरिषद्ले आईजीपीबाट हटाउँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएपछि उनी अदालत पुगेका हुन् । सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।
आफूलाई स्पष्टीकरण र सुनुवाइको मौका नदिई हटाइएको रिटमा उल्लेख गरिएको छ।
प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेरहद प्रहरी ऐन २०१२, प्रहरी नियमावली २०७१ मा सुनिश्चित भएको अवस्थामा बिनाआधार र कारण हटाइएको भन्दै पुनर्बाहलीको माग गरिएको छ । सरकारको निर्णय तत्काल रोक्न सर्वोच्चसमक्ष अन्तरिम आदेशको माग गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
