काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ८ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ७ हजार ६०९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
बैंकले उक्त सेयर खरिदका लागि पहिलो चरणमा हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ। यसका लागि इच्छुक संस्थापक सेयरधनीलाई ३५ दिनको समय उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकका अनुसार सम्बन्धित संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएका थिए। सोही निवेदनका आधारमा बैंकले सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सबै सेयर बिक्री हुन नसकेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

त्यसपछि प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार सेयर बिक्रीको प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
