काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात क्षेत्रलाई थप दिगो र भरपर्दो बनाउन स्थिर सरकारी नीति र आधुनिक पूर्वाधारको आवश्यकता रहेको बताएकी छिन् ।
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा अध्यक्ष वैद्यले प्रविधिको तीव्र विकाससँगै सवारीसाधनको बजारमा ठुलो परिवर्तन आइरहेको उल्लेख गरिन् ।
अहिले ब्याट्रीबाट चल्ने विद्युतीय गाडीका साथै विभिन्न प्रकारका हाइब्रिड र नयाँ प्रविधिका सवारीसाधनहरू भित्रिरहेका छन् । यस्तो अवस्थामा सरकार र उद्योग दुवैले यी नयाँ प्रविधिहरूलाई गहिराइमा बुझ्नुपर्ने र त्यसैअनुरूप कर प्रणाली, वर्गीकरण र नियमनका स्पष्ट व्यवस्थाहरू गरिनुपर्नेमा उनले जोड दिइन् । नाइमाले यसका लागि आवश्यक प्राविधिक सहयोग र विज्ञता उपलब्ध गराउन तयार रहेको समेत उनले स्पष्ट पारिन् ।
अध्यक्ष वैद्यले ‘सबैका लागि गतिशीलता’ भन्ने अवधारणालाई नाइमाको मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिन् । उनका अनुसार यातायात वा गतिशीलता केवल सवारीसाधन मात्र नभएर यो शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसम्मको पहुँच पनि हो ।
त्यसैले यसलाई केवल विलासिताको वस्तु वा सरकारको आम्दानीको स्रोतका रूपमा मात्र नहेरी राष्ट्रिय विकासको एक महत्त्वपूर्ण अङ्गका रूपमा हेरिनुपर्दछ । नेपालमा यातायातलाई थप प्रभावकारी बनाउन सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक परीक्षण केन्द्र र दक्ष जनशक्तिको खाँचो रहेको उनको भनाइ छ । सवारीसाधनको सङ्ख्या बढ्दै जाँदा सडक सुरक्षालाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन् ।
उनले लगानीमैत्री वातावरणका लागि सरकारले स्थिर र दीर्घकालीन नीतिहरू अवलम्बन गर्नुपर्ने माग गरिन् । नीतिहरूमा हुने पटक–पटकको परिवर्तन र अस्पष्टताले व्यवसायीहरूमा अन्योल पैदा गर्ने उनको तर्क छ । दशकौँदेखि नेपालमा लगानी र रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीहरूलाई प्रोत्साहन गर्न र यो क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबिचको सहकार्य आवश्यक रहेको कुरामा उनले जोड दिइन् ।