काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ ।
रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ ।
रास्वपाले योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिन पनि सांसदहरूलाई निर्देशन दिएको छ ।
