काठमाडौं । अबदेखि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार नमानिने भएको छ ।
सर्वोच्च अदालतले एउटा पुरानो मुद्दामाथि अप्रत्याशित फैसला गर्दै त्यस्तो व्याख्या गरेको हो ।
बलात्कारका विषयमा अदालतबाट हुँदै आएका फैसलाहरूका विषयमा अनेक प्रश्नहरू उठिरहेको बेला सर्वोच्च अदालतले ‘शारीरिक सम्बन्ध राख्दैमा बलात्कार मान्न नसकिने’ व्याख्या गरेको हो । सर्वोच्चको यो व्याख्यासँगै अब बलात्कारसम्बन्धी मुद्दाहरूले नयाँ चरणमा प्रवेश पाउने अनुमान गर्न सकिन्छ ।
सर्वोच्च अदालतको यस्तो व्यख्यासँगै बलात्कार आरोपमा ६ वर्षदेखि जेलजीवन बिताइरहेका प्रतापपुर गाउँपालिका–५ नवलपरासीका ‘बब्न’ भनिने अभिमन्यु अहिर (यादव)ले सफाइ समेत पाएका छन् । उनीविरुद्ध २०७५ सालमा पीडित ‘एल’ले बलात्कार आरोपसहित उजुरी दिएकी थिइन् ।
उनको त्यो मुद्दामाथि नवलपरासी जिल्ला अदालत र उच्च अदालत तुलसीपुरले फैसला गरी यादवलाई जेल सजाय दिइँदै आएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलाशले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेसँगै यादवले पूर्णतः न्याय पाएका छन् ।
‘वस्तुतः कुनै पनि वारदात प्रमाणबाट स्थापित हुने हो । अन्य प्रमाणको अभावमा केवल व्यक्तिको कथनबाट मात्र वारदात स्थापित हुन सक्दैन । पीडितले अदालतमा आई बकपत्र गरेमा अन्य प्रमाण हेर्नै नपर्ने भन्नु न्यायको रोहमा उचित हुँदैन । अन्य प्रमाणबाट समर्थित नभएको केवल पीडित भनिएकी महिलाको भनाइलाई मात्र निर्णायक प्रमाण मानी कसूर ठहर गरेमा प्रतिवादीको फौजदारी न्यायको हक सङ्कुचित हुनसक्ने खतरातर्फ न्यायकर्ताले विचार पुर्याउनुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ ।
सर्वोच्चले यो मुद्दामा पीडित भनिएकी महिलाले अदालतमा आफूमाथि जबरजस्ती करणी भएको दाबी गरेको भए पनि उनीहरुबीच सहमतिमै शारीरिक सम्बन्ध भएको ठहर गरेको छ ।
उल्लेखित घटनासम्बन्धी सर्वोच्च अदालतको फैसला र पूर्णपाठ यसप्रकार छ–
FACEBOOK COMMENTS